नरेन्द्रजङ्ग पिटर उर्फ कमरेड केशर पहाडी उर्फ नुनिन्द्र दुलाल । ‘जनयुद्ध’को समयमा भूमिगत हुँदा उनको नाम थियो कमरेड केशर पहाडी । सबैले चिन्ने प्रचलित नाम हो नरेन्द्रजङ्ग पिटर । पुर्ख्यौली थलो काभ्रेपलान्चोकमा पूर्वजले दिएको नाम हो नुनिन्द्र दुलाल ।
नरेन्द्रजङ्ग पिटर । अचेल उनी ‘स्वतन्त्र वामपन्थी’ बनेर बसेका छन् । कम्युनिस्टहरूले पिटरको दिमाग खाइदिए । तथापि हृदयले अझै पनि ‘ये दिल मागे साम्यवाद’ पुकारा गर्न छाडेको छैन । कम्युनिस्ट उन्मादको रुमानी दुनियाँबाट वास्तविक धरातलमा पछारिएका उनी थकित र क्लान्त छन् I तर जोसिलो देखिने प्रयास जारी छ । बेला मौका मञ्च पाउँदा आगो ओकल्न छाडेका छैनन् ।
उनको हालै प्रकाशित किताबको नाम हो ‘बकपत्र’ । बकपत्र अर्थात् मुद्दामा साक्षीले लेखिदिएको कागज ।
यो लेखकको आफ्नो जीवनयात्रा सम्बन्धी साबिती बयान हो । उनी जनयुद्धमा संलग्न हुँदा पनि साक्षी भावमा रहन्थे । अलिकता उन्माद, अलिकता तटस्थता, अलिकता अवलोकन, अलिकता आलोचक भाव, अलिकता उत्सुकता एवं अलिकता न्याय र अन्यायको छ्यानविवेक देखिन्छ उनको लेखाइमा ।
उनी आफै स्वीकार गर्दै लेख्छन् , ‘मैले सायद ५५ देखि ६० प्रतिशतसम्म सत्य बोल्न सक्ने बताएँ ।’ सत्य बोल्नेबारे भएको छलफलमा कृष्ण महराले ७५, शक्ति बस्नेत ६५-७० र तिलक परियारले शत प्रतिशत सत्य बोल्ने दाबी गरेछन् । दाबी त हो जसले जति गरे पनि भयो । पिटरले आफ्नो ५५ देखि ६० प्रतिशतसम्मको सत्य साबितीमा ‘सायद’ शब्द प्रयोग गरेको हुँदा उनी आफ्नो बकपत्रको साबितीमा अलिकता धरमर छन् जस्तो लाग्छ । धेरै नग्नताहरू प्रकट गर्दागर्दै पनि सायद अन्तिम र घनघोर नग्नतालाई आवरणभित्रै राख्न विवश छन् जस्तो लाग्छ ।
संसारमा कोही पनि पूर्ण सत्य बक्न सक्तैन । यदि कोही पूर्ण सत्य बोल्न थाल्यो भने या ऊ बहुला बन्छ या त जिउन सक्दैन । यस मानेमा नरेन्द्र आफ्नो बकपत्रमा इमानदार छन् । पुस्तकको भूमिकामा उनी लेख्छन्, ‘म समाजको सामुन्ने नाङ्गिन चाहन्थेँ ।’ नाङ्गिन चाहनु पिटरको भावनात्मक इरादा हो । यो उक्तिमा हार्दिकता छ । आफू र आफ्नो समाजलाई छ्याल्लब्याल्ल पोख्ने मनसुबा पनि छ । त्यसरी नाङ्गिन पनि त सहज छैन । तथापि पिटर आफ्नो बकपत्रमा इमानदार प्रयासमा देखिन्छन् ।
नरेन्द्रको बकपत्र पढ्दा उनी सदाकाल छटपटी र बेचैनीका नायक जस्ता देखिन्छन् । उनी समाजमा सरसता र समरूपता चाहन्छन् । उनी न्यायको चाहना राख्छन् । के गरे सबैलाई न्याय होला भनेर गम्छन् । ‘अज्ञानले दिने सुख’ पाएका उनी स्वस्थानी, तुलसा र दसैँको व्रतबाट सन्तोष लिने गर्दथे । तर उनी धार्मिक भनिने व्यक्तिबाटै अन्यायमा परेपछि अकस्मात् जागरूक हुन पुगे । आस्थाबाट अनास्था र विश्वासबाट तर्कको यात्रा सुरु गरेका उनी चौतर्फी कष्ट, मुस्किल र तिरस्कारको भुमरीमा परे । अन्यायमा परेपछि भगवानमा विश्वास हरायो । उनी लेख्छन्, ‘भगवान् छँदै छैन । छ भने पनि शक्तिशालीका लागि मात्र छ ।’ नरेन्द्रको बाल्यकाल र किशोरावस्था रमाइलो त थियो, किन्तु रसिलो थिएन ।
नरेन्द्र आफ्नो जन्मथलोमा अनेक कौतुक गर्थे । साथीभाइ प्रशस्त थिए । गणेश चौथीमा काँक्रा मकै चोर्ने, कसैको ओखलमा आची गरिदिने, खोरमा र गोठमा हुलेर राखेका बस्तुभाउ फुकाइदिने र छिमेकीको घरमा बाहिरबाट ताला लगाइदिने जस्ता उपद्रोका साक्षी थिए उनी । उनी रेडियो हेर्न स्कुलबाट भागेर बेसी डुम्कोट झरेका थिए । सर्वोपरि उनले गरिबीको विकरालता भोगेका थिए । सायद त्यही गरिबी नै हो, जसले उनलाई बहुनामी, बहुगामी र यायावरी बनायो ।
लोर्के उमेरमा उनले साँगा भन्ज्याङ मात्र होइन, थानकोट नै काटेर बाटो तताए । बगलीमा ५ रुपियाँ राखेर कुलेलम ठोकेको नुनिन्द्र दुलाल आफ्नो सक्कली नाम काभ्रेली आफन्तमाझ नासो छाडेर मुगलान छिर्यो । नुनिन्द्र लेख्छन् ‘ठक्कर खाएको ढुङ्गो शालिग्राम बन्छ।’ उनी ‘बहादुर कान्छा’को रूपमा पटनामा क्रिश्चियन धर्मी प्रोफेसर पिटर दासको घरमा छिरे । प्रोफेसर साहब कम्युनिस्ट थिए । उनकै सान्निध्यमा बहादुर कान्छो पनि कम्युनिस्टतर्फ लहसियो । प्रोफेसर पिटर दासले बहादुर कान्छालाई ‘नेपाली बाबु’ भन्न थाले ।
दयालु प्रोफेसरको सङ्गतिमा परेका उनले सायद कम्युनिस्ट सबै दयालु हुन्छन् भन्ने बुझे । त्यो सोचाइ कालान्तरमा गलत सिद्ध भयो । एउटा सपना थियो जो भङ्ग भयो । एउटा भरोसा थियो जो भत्केर गयो । एउटा निष्ठा थियो जो टुटेर गयो । आज नरेन्द्र बडो ऊहापोहमा छन् । मिठो मिठो कम्युनिस्ट सपना देख्थे उनी । रौँ ठाडा पार्ने रुमानी दिलासा पाउँथे उनी । परन्तु नरेन्द्र ‘कम्युनिजम’प्रति भने अझै पनि मोहित छन् । उनी मोहित छन्, किनकि कम्युनिस्टहरू पो जिउँदा जाग्दा यथार्थ हुन् र मोह भङ्ग भयो । कम्युनिजम त एक अमूर्त र निराकार आदर्श हो । उनी कम्युनिजमप्रति त्यसरी नै मोहित छन्, जसरी एउटा धर्म भीरु मान्छे अज्ञात ईश्वर, स्वर्ग या वैकुण्ठका गाथा सुनेर मोहित हुन्छ । नरेन्द्रको तेबर हेर्दा भविष्यमा पनि कम्युनिजमको अफिमबाट मुक्त हुने छाँट देखिँदैन ।
लेख्दै जाने र त्यसको विश्लेषण पनि स्वयं गर्दै जाने आफ्नै शैली छ उनको । उनी धन सम्पत्तिबारे बडो रोचक वर्णन गर्छन् । सम्पत्तिलाई नै जीवनको अन्तिम सत्य मान्ने मान्छेहरू देखेर विस्मित थिए नरेन्द्र । उनी बाबुको किरिया बसेका भाइबिच धनका लागि भएको कलह देखेर अचम्ममा परे । पछिल्लो समयमा व्यक्तिगत सम्पत्तिलाई नै असमानता र शोषणको जरिया ठान्ने कम्युनिस्टहरूको द्रव्यपिचासी देखेर र त उनी झनै आश्चर्यचकित भए ।
प्रोफेसर पिटर दास एक दिन नरेन्द्रलाई सानो चिठीका साथ ३१५ रू. छाडेर अज्ञात नक्सली भूमितिर भूमिगत भए । नरेन्द्र नेपाल फर्कन भनेर पटनाबाट रक्सौलका लागि रेल चढे । ‘हुक्सेली हुस्सु’ नुनिन्द्रको झिटीगुन्टा हरायो । नियतिले फेरि सहारा खोज्न बाध्य पार्यो । उनले डङ्कन अस्पतालका लाइब्रेरियन ऋषि आचार्यको सहयोगले एउटा स्वास्थ्य क्लिनिकमा काम पाए । फक्रँदो जवानी थियो । उनी एउटी युवतीको चक्करमा फसे । नरेन्द्र प्रेम गर्न खोज्ने, युवती भने फाइदा लिन खोज्ने । प्रेमको प्रथम कोपिलो झरेर गयो । सम्बन्धमा ब्रेक लाग्यो । पछि उनले पर्साको अलौका राजेन्द्र सिंहकी छोरी मिनुसँग विवाह गरे ।
२०३६ सालमा नरेन्द्र चितवनको भन्डारा पुगे । क्लिनिकको अनुभव छँदै थियो । उनी भन्डारामा ‘झोले डाक्टर’ बने । ग्रामीण डाक्टर हुनुको नाताले उनले खातेपितेहरूको वैध – अवैध सम्बन्ध देखे । दुःखीको सेवा पनि गरे । जमिनदार, नेता र व्यापारीको सङ्गतमा पुगे । कम्युनिस्ट्याइँ गर्दै हिँड्ने हुँदा प्रहरी र गुप्तचरको नजरमा परे । झोले रोजगारी, जिद्दी स्वभाव र हैरान जिन्दगी ।
फेरि कताबाट एग्रोभेट व्यापारको चस्का लाग्यो । उनी २०४२ सालमा नेपालगन्ज पुगेर ‘मित्र एग्रोभेट’ व्यापारिक फर्मका मालिक बने । उनलाई मित्र एग्रोभेटले नाम, काम र दाम दियो । व्यापार गर्दै जाँदा थाहा पाए, व्यापारी साझेदार हुन सक्छ तर मित्र हुन सक्दैन । उनी भन्छन् , ‘भावना प्रधान मान्छेले मित्रता त गरे हुन्छ, तर साझेदारी गर्नु हुँदैन ।’
कम्युनिस्ट भनेपछि हुरुक्क हुने नरेन्द्र व्यापारको सिलसिलामा कम्युनिस्टबाटै धेरै ठगाइमा परे । व्यापारिक मित्र आलोकले त उनको धन मात्र लगेनन्, भाइको अपहरण समेत गरे । नरेन्द्र कम्युनिस्टहरूबाट हैरान लखतरान छन् । तर उनलाई कम्युनिजमको डोरीले साह्रै कसिलोसँग बाँधेको छ । आज उमेरको यो घडीमा उनी त्यो डोरी छिनाल्न पनि त सक्दैनन् । अब कम्युनिजमको त्यो सदरमुकाम छाडेर जानु त कहाँ कुन मुकाममा जानू ?
उनलाई आफ्नाले मूर्ख बनाए, उल्लू बनाए, ठगे । लालवस्त्रधारी कृषि हाकिमलाई ‘मुहमागा’ कमिसनले मात्र पुगेन । कम्युनिस्ट लिबासभित्र लुकेको कामुक मान्छेका लागि व्यभिचारको चाँजो मिलाउनुपर्ने भएपछि सम्झौता रद्द गरे । जनयुद्ध सुरु भयो । पिटर मूर्ख बनिरहे । वार्ताको मध्यस्थता गरे । हिमाल पहाड घुमे । कहिले खुल्ला मोर्चा त कहिले भूमिगत । दिन बित्दै गए, सपना भङ्ग हुँदै गयो । युद्धकारी साथीहरूको चाल र चरित्र चिनेका उनी लेख्छन् , ‘मुखुण्डो फेरिएर के गर्नु, अनुहार त उही हुन्छ ।’
नेपालगन्जले उनलाई लेखन, अध्ययन र चिन्तनमा सरिक गरायो । उनले नेपालगन्ज मात्र होइन, नेपालगन्जिया सबै अगुवा र पछुवालाई चिने । कवि, कलाकार, झल्लाकार, नेता, व्यापारी, जमिनदार, टाँगावाला, रिक्सावाला, पानवाला, सेकुवावाला र ठेलावाला सबैलाई चिने । त्यहीँ उनी उर्दु र अवधिसँग परिचित भए । त्यहीँ उनले बहुभाषिक कवि गोष्ठी आयोजना गरे । त्यहीँ उनले सुतेकालाई जगाए । त्यहीँबाट नरेन्द्रले लखनौ र दिल्ली चिने ।
पार्टीको छलफलमा उनले भने रे,’म नक्कली आदर्शको कुरा गरेर आत्मरति लिन चाहन्न । पाइन्जेल सुख सुविधामै बस्न, मिठो चोखो खान र राम्रो सफा सुग्घर ओछ्यानमा सुत्न चाहन्छु । यौनलाई पनि घृणाको रूपमा हेर्दिन । जाँड रक्सीको निषेध होइन, नियमनको पक्षधर हुँ । आफै पनि लिन्छु । आदर्श खोक्ने र सिरक ओढेर रक्सी तन्काउने चिन्तनको म सदा विरोधी हुँ ।’ उदारचेता मान्छेलाई समेत परिस्थितिले कसरी बारबन्देजवाला कट्टर कम्युनिस्ट बनाउन पुग्छ भन्ने कुराका ज्वलन्त प्रमाण हुन् नरेन्द्रजङ्ग पिटर ।
पिटरको जीवनचक्रलाई नियाल्दा प्रगतिशील सायर असरारुल हक मजाजको यो सायरी याद आयो ।
‘बढ़के इस इन्दर सभा का साज़ो-सामां फूंक दूँ
इसका गुलशन फूंक दूँ, उसका शबिस्ता फूंक दूँ
तख़्ते-सुल्ताँ क्यां, मैँ सारा क़स्रे-सुल्ताँ फूंक दूँ
ऐ ग़मे दिल क्या करूँ, ऐ वहशते-दिल क्या करूँ ।’
प्रचण्डको अवस्थाबारे पिटर लेख्छन् , ‘निजी जीवनमा कुनै नेपाली नेता दुःखी छन् भने प्रचण्ड पहिलो नम्बरमा छन् । विश्वासयोग्य र भरोसा गर्न लायक सहयोगी या उत्तराधिकारी उनीसँग छैन । सङ्गठानात्मक सिद्धान्तको विकास र अभ्यास गर्न सकेनन् ।’ उनी कम्युनिस्ट नेताको मठाधीश प्रवृत्ति देखेर दिक्क हुन्छन् । बाबुरामबारे उनी लेख्छन् ,’ड्राइभिङ सिटमा रहेर पनि जनमुक्ति सेनालाई कहिल्यै रुचाएनन् ।’ एक पटक बाबुरामले भने रे,’दश वर्षे जनयुद्ध कहाँ पो कम्युनिस्ट आन्दोलन थियो र ?’ कसको कुरा पत्याउनु खै ।
नरेन्द्र कम्युनिस्टहरूबिच कहिल्यै हार्दिकता नरहेको कुरा बताउँछन् । कम्युनिस्ट शासन कायम नै भएका देशमा पनि नेताहरूबीच कहिल्यै हार्दिकता रहेन । लेख्छन्, ‘नेताका छोराछोरी सुरक्षित राख्ने र उच्च व्यवस्थापनमा पठनपाठन गराउने…..। भ्रष्ट, नैतिकताहीन, आदर्शहीन, सनकी र अपराधी प्रवृत्ति युद्धको आवरणमा छोपिएका मात्र रहेछन् ।’ उनी अगाडि लेख्छन्, ‘युद्ध कालमा छिपछिपे रहेको चारित्रिक अभ्यास शान्ति कालमा छचल्किएको मात्र हो ।’ पिटरका यस्ता खुल्लमखुल्ला टिप्पणी पढ्दा लाग्दछ, जनयुद्धले उनले चाहेको परिणाम दिएर कामरेडी शासन सत्ता कायम भएको भए यिनको कलम कुन शब्दमा बोल्थ्यो होला ? यानप्रसाद गौतम अर्थात् आलोक प्रवृत्तिबाट आजित उनी आलोकको ‘विलासिता, रङ्गीन मिजासी र हुकुमी प्रवृत्तिबारे’ लेख्न पाउँदा हुन् ? पिटर भाग्यमानी हुन्, जसले आफूले मन पराएको अभियान असफल हुन जाँदा आफूले मन पराएका शब्दहरू लेख्न पाए ।
निराश र हतास नरेन्द्र लेख्छन्, ‘के सोचेको थिएँ ? के भइरहेको छ ? मैले सोचे अनुसार मेरो समाज हाँकिन्छ भन्ने विश्वास मिथ्या रहेछ । माफ गर मैले दश कदम अगाडि सोच्न सकेको रहेनछु ।’ उनी थर्थराउँदो हातले हृदयको आवाजलाई शब्द दिँदै लेख्छन्, ‘हेर्दाहेर्दै ढलेको आदर्शको सगरमाथा देखेर रोएको छु, भूकम्पित छु र धाँजा धाँजा भएर फाटेको छु ।’
यो समीक्षा बकपत्रको लगभग आधा भागको मात्र हो । किताबको आधा भाग जीवन र जगत सम्बन्धमा छ । त्यसमा फेरि अध्ययन, मनन र अनुशीलन गर्न भ्याएँ भने मिहिन तरिकाले लेख्ने इरादा छ ।
अस्तु ।