काठमाडौँ । ललितपुर महानगरपालिकाको ३ वटा वडालाई जोड्ने पुल सञ्चालनमा आएको छ । महानगरपालिकाले वडा नम्बर १३, १४ र २५ लाई जोड्न निर्माण गरेको पक्की पुलको आज शुक्रबार उद्घाटन भएको हो ।
दक्षिण ललितपुरको क्षेत्रहरू बुंगमती, खोकनातर्फका बासिन्दालाई सहज हुने गरी महानगरले नख्खु खोलामा पुल निर्माण गरेको हो । महानगरका प्रमुख चिरीबाबु महर्जनले पुल उद्घाटन गरेका हुन् ।
तामाङ मरिन कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको पुल २ करोड ७० लाख रुपैयाँमा निर्माण गरेको हो । महानगरले ३ भदौ २०७९ मा ठेक्का सम्झौता गरेको थियो । २ वर्षभित्र सकाउने सम्झौता भए पनि सम्पन्न नभएपछि २० मंसिर २०८१मा म्याद थपेको थियो ।
पुल सञ्चालन भएपछि दक्षिण ललितपुर क्षेत्रका नागरिकलाई सहज हुने भन्दै महानगर प्रमुख महर्जनले सबैको लागि विकास गरिरहेको बताएका थिए । उनले कोरसिटीमा मात्रै नभई महानगरको उपस्थिति नयाँ र बाहिरी सहरहरूमा पनि भइरहेको बताएका थिए ।
महानगरले अपांगता भएका नागरिकलाई मध्यनजर गरी अपांगतामैत्री आकाशे पुल निर्माणको काम पनि गरिरहेको बताए ।