डोटी । कृषि ज्ञान केन्द्र डोटीले अघि सारेको ‘समृद्ध डोटी, सुखारी डोटी’ नारालाई साकार पार्न डोटीमा कृषिलाई व्यवसायीकरण गर्नुपर्नेमा एक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले जोड दिएका छन्।
मंगलबार सिलगढीमा आयोजित कृषि प्रविधि प्रचार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा, कृषि ज्ञान केन्द्र डोटीका प्रमुख गंगादत्त अवस्थीले जिल्लामा गरिएका गतिविधि, कृषिमा भित्रिएका नयाँ प्रविधि, आगामी योजना र समस्याहरूको बारेमा सञ्चारकर्मीहरूमार्फत प्रचार गर्ने उद्देश्य रहेको बताए।
कार्यक्रममा केन्द्रले गत वर्ष सम्पन्न कार्यक्रम, चालु आर्थिक वर्षमा सञ्चालन भइरहेका योजना र आगामी कार्य योजनाहरूको जानकारीसमेत गराएको थियो।
कृषि ज्ञान केन्द्रले यस वर्ष पालिका स्तरमा कृषक पाठशाला सञ्चालन, गुरु किसान परिचालन, घरबारी तथा पोषण बगैँचा स्थापनामा सुदृढीकरण, कृषि सर्वेक्षण, किसान सूचीकरण, फलफूल नर्सरी स्थापनामा सुदृढीकरण, मागमा आधारित युवा लक्षित कृषि विकास कार्यक्रम, र हरियो मल प्रवर्द्धनजस्ता कार्यक्रम सञ्चालन गरिरहेको जानकारी गराइएको थियो। प्रमुख अवस्थीले दक्ष जनशक्ति, ठुलो मात्रामा लगानी र लगनशील किसानहरूको आवश्यकतामा सबै पक्षको सहयोग आवश्यक रहेको बताए।
कार्यक्रममा जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले बाँझो जमिनको प्रयोग गरी कृषि क्रान्तिको सुरुवात गर्नुपर्ने बताए। उनले समाजको समृद्धिका लागि कृषिलाई व्यवसायीकरण गर्न नागरिकहरूलाई प्रोत्साहित गर्नु जरुरी रहेको औँल्याए। “कृषिलाई आत्मनिर्भर बनाउन मुखले मात्र होइन, बजेट व्यवस्थापनमा पनि ध्यान दिन आवश्यक छ,” उनले भने। स्थानीय तहहरूले बजेटको उचित व्यवस्थापन गरेमा समृद्ध डोटी बन्न धेरै समय नलाग्ने उनको भनाइ छ।
डोटीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मोहनराज जोशीले कृषिलाई प्रवर्द्धन गर्न अन्तरपालिका स्तरीय समन्वयात्मक कार्यक्रम आवश्यक रहेको बताए। उनले जिल्लाका पालिकाहरूले गरेका असल अभ्यासहरूको आदानप्रदानबाट कृषि क्षेत्रमा ठोस सुधार गर्न सकिने बताए। उनले ज्ञान केन्द्रद्वारा सञ्चालन भएका अगुवा किसान कार्यक्रम, कृषि पाठशाला लगायतका कार्यक्रम प्रभावकारी रहेको भन्दै प्रशंसा समेत गरे।
कार्यक्रमका सहभागीहरूले डोटीमा कृषिलाई प्रवर्द्धन गर्न ज्ञान केन्द्रले नयाँ प्रविधिको विकास, उत्पादकत्व वृद्धि, बजारीकरण, ब्रान्डिङ, व्यावसायिक कृषकको खोजी, र नयाँ प्रविधिको जानकारीमा विशेष जोड दिनुपर्ने सुझाव दिएका थिए।