काठमाडौँ। नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । बुधबार बिहान ८ बजे बस्ने गरी बैठक बोलाइएको सचिव देवेन्द्र पौडेलले बताएका छन् ।
बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्न सक्ने उनले बताए । पुस २१ देखि २३ सम्म बसेको केन्द्रीय कमिटी बैठकपछि पहिला पटक बस्न लागेको पदाधिकारी बैठकले नेताहरूको कार्यविभाजन गरेर केन्द्रीय कमिटीको बैठकको निर्णयसहित परिपत्र जारी गर्न तयारी गरेको छ।
माओवादीले यो पटक नेताहरूको कार्यविभाजन गर्दा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनलाई पनि जिम्मेवारी दिने तयारी गरेको छ ।
पुनलाई माओवादीले उपाध्यक्ष बनाउने तयारी गरेको छ। पछिल्लो समय माओवादीको बैठकमा निरन्तर सहभागी हुँदै आएका पुनलाई गएको केन्द्रीय कमिटीको बैठकमा उपाध्यक्षसरहकै कुर्सीमा राखिएको थियो।
बैठकमा पुन सक्रिय राजनीतिमा आउने कुराको केही नेताहरूले विरोध गरेपछि पाटी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले बोलाएको नभई व्यक्तिगत इच्छाले पुन आफैँ सक्रिय भएको प्रष्टीकरण दिएका थिए।