मेरा बाको कान्छो छोरो म कान्छो । बुवा आमाले माया गरेर भन्ने नाम मेरो कान्छी । विध्न प्यारो, मायाको डोरो, पेट पुच्छुवा । सबैलाई बिर्सेर मेरो ध्यान मेरा बा तर्फ । वि स २०१० साल श्रावण २ गते ब्रह्मा विष्णु महेश्वरले आपसी सल्लाह गरेर जन्माए जस्ता मेरा बा । तेज त्यस्तै वाणी भनौँ भने दश (१०) सिंह गर्जिए जस्तो न्यायका पहरेदार दिन दुखिका प्यारा असत्तीका लागि यमराज शत्रुध्नमणि लामिछाने (भैया) मेरा बा। मलाइ त मिति पनि थाहा छैन असत्तीको कुकृत्य मेरा बाको दशा ठुलो दुर्घटना संकेत मलाई बिहानै । बाटे गराको डिल गुन्द्रीमा खेल्दै गर्दा मेरा बा ले खान लागेको सुपारी फुत्त भुईँमा खसेको दिन दिनै जसो याद आउँछ मलाइ। घटनाको केही दिन पछि याद आयो तिन (३) दिन लगाएर जसरी पनि खोजेर मकैका फुल धस्काएझैँ धस्काएर खाइदिएको मैले । त्यो बेला समेत मेरो मनमा अत्यन्त चर्को द्धन्द थियो । अहिले कति छ भन्ने म त के भन्न सकुँला र इन्द्रेका बाउ चन्द्रेले पनि बयान गर्न कठिन छ ।
सन्दर्भ, काठमाडौँ । मेरा बा का बग्रेल्ती सन्तान तर सबै अत्यन्त सुन्दर निपूर्ण विज्ञ अत्यन्त मिजासिला सिवाय म । हावा कालो यसोऽऽऽ हेर्दा गरिखाला जस्तो नदेखिने बहकाउ भन्नुपर्दा झल्लो । पढेर खाला जस्तो नदेखिने अत्यन्त हुल्याहा मेरो बानी । पढ्नु पर्छ भन्ने जानेको चैँ ८ कक्षामा आएर मात्र । त्यो पनि मेरा बाको प्रेरणाले। हेर कान्छी पढ्ने भनेको जम्मा ४ (चार) वर्ष मात्र ९,१०,११,१२ अरु त पढ्नै पर्दैन । हो कि क्या हो भनेर पढ्दिएको मैले । मेरा बा को बोली त हो के फरकै नखाने साँच्चै प्रमाणित भएजस्तो लाग्नी ।
आमा । मेरी आमा अत्यन्तै दयालु, मानौँ दुर्गा माताको कोखबाट मैले जन्म लिएको। सानी होची फुरौली फ्याट्ट भुँडी लागेकी मेरी आमा। मेरो जीवनको पहिलो , अहिले र अन्तिम प्यार मेरी आमा तर कुरा कहिल्यै नमिल्ने मेरी आमा । दुःख छ मेरी आमालाई तर कहिल्यै देखिएन । मेरी आमाको अत्यन्तै सुन्दर कला दुख कहिल्यै नदेखाउने असाध्यै कलाकारी छ मेरी आमाको । यो संसारमा यदि मेरो शक्ति चल्दो हो त परशुरामले क्षेत्रीको विनाश गरेझैँ माता पितालाई लाग्ने हरेक रोग कुन जमानामा नै सखाप पारिसक्ने थिए मैले । म विवश छु मेरो प्रेरणा मेरो भगवान् मेरो ब्रह्माण्ड मेरा माता पिता रोगी हुनुहुन्छ ।
प्रसँग मेरा दाजु । युधिष्ठिरको रूप छ मेरा दाजुको । सदा बचनमा आधारित भिम जस्तो जिउडाल जोख्न पर्यो भने तुलोले धान्दैन । अत्यन्त मनको सफा न्याय पनि पधेरोको पानी भन्दा पनि सफा । मेरो बा पछिको बा र आमा पछिको भाउजू हुनुहुन्छ । पुनः जन्म हुन्छ भने देखि मलाइ केही चाहिएन प्रभु उही आमाको कोख उही बा तथा उही दिदी भएको परिवार मिलोस् ।
लाटाको खुट्टा बाटामा परेजस्तो जागिरको मेलो मेरी आमालाई म देखि टाढा बनाएको जागिर तिन महिना सम्म मेरी आमाको आँसु बगाएको जागिर खान गएको पहिलो दिनदेखि म पहिलो दिन घर आएको दिन तिन महिना पछि मात्र मेरी आमाको आँसु रोकिएको । बा चैँ मक्ख छोरोले गर्यो है भन्ने खुसी तर आमाको मायाको आशुले सधैँ खुसी म । जागिरमा पनि सबैको प्यारो खटिराले कहिल्यै माया मारेन जहिले सँग सँगै हस्पिटल सम्म पुर्यायो डाम्नाले ।
यो संसारमा कहीँ नभएको असत्ती अत्यन्त निर्दयी नशाको रोग मेरा प्यारा बा लाई लाग्नु के यो न्यायोचित छ त भगवान् ? मेरो मेरो प्रश्न छ बह्मा ,विष्णु महेश्वरलाइ । यसो सपनामा आएर भन्दिए पनि हुन्थ्यो जस्तो लाग्छ । सुत्नु अगाडी सधैँको प्रार्थना हो मेरो भगवानलाइ । विडम्बना यस्तो छ मैले सपना नदेखेको वर्षौँ भइसक्यो । विभिन्न कालखण्ड पार गरी मेरा बा को स्थिति अहिले बेडमा । यस्तो हेर्छु बेडमा पल्टिएको मेरा बा को स्वरूप, श्री हरी विष्णु ,शेष नागको श्यामा विराजमान होइबक्सेको जस्तो । यत्रो वर्षसम्म रोगले विक्षिप्त मेरा बाको तेजको वर्णन गरिसाध्य छैन । हँसिलो अनुहार गमिलो प्यार यसमाथि नै मलाइ देखेपछिको मुस्कान त्यो म वर्णन नै गर्न सक्दिन त्यो त भाग्यमानी ले मात्र देखेको होला ।
प्रसङ्ग मेरो मनको भक्कानो घाटीको मुनी पर्ने एक प्रकारको गाँठो, श्वास अड्किएको, बोल्न नसकिने, स्वर धसिएको पिडादायी अवस्था । मेरा बा को कान्छी छोरी, पेट पुच्छुवा , आमा पछिको प्रत्यक्ष रेखदेख गर्ने म। जानेको ,पढेको केही होइन ,कमन सेन्सले काम गर्ने बुवाको रेखदेखमा बुवाले पत्याएको व्यक्ति म । सबै रेखदेख गर्ने, मलाइ देखेपछि बुवाको मन एक प्रकारको ढुक्क हुने । जिन्दगीको एउटा मात्र डर, मलाइ देखेर मुसुक्क हाँस्ने मेरा बा सबै मेरो भर पर्ने आफ्नो सम्पूर्ण रोगले विक्षिप्त शरीर मलाइ सुम्पने बा जानी नजानी जाने गरी टाक् टुक् पारी सहज गरिदिने म ।
व्यक्त गर्न हुन्छ या हुँदैन तर पनि मनमा कुण्ठीएको मेरो भावना मेरो भक्कानो घाटी मुनी कटक्क खाने गरी परेको गाँठो !
तैपनि;
बुवा : कान्छी मेरो सास बढ्यो किन हो ?
म : अक्सिमिटर लगाएर सक्षन गर्दै बुवा अक्सिजन र बीपीएम ठिक छ।
बुवा : लामो लामो श्वास तान्दै मोन।
म : पेट मिच्दै ग्यास आएपछि ठिक हुन्छ केही बेरका लागि। ग्यास भररर ररररर।
बुवा मुसुक्क हाँस्दै ठिक छ।
वैज्ञानिकको सत्प्रयास भगवानको कृपा मेरा बा को सत्कर्मको सुनुवाइ छिटै औषधिको आविष्कार भइ मेरो हातमा परेको दिन मैले के गरुँला ? औषधीको प्रभावले मेरा बा ले पहिलो पाइला चालेको दिन मैले के गरुँला ? घाँटीको पाइप झिकेर फालेको दिन मैले के गरुँला ? मेरी आमाको दुखाइ सन्चो भएको दिन मैले के गरुँला ?