काठमाडौँ। मोरङको कर्सियामा रहेको उमागौरी कृषि सहकारी संस्थाको ठगी प्रकरणमा फरार रहेकी अञ्जला कोइरालाको स्कुल बिदा थपको निवेदन उनका श्रीमान् ऋषिकेश पोखरेलले पठाएका छन्।
संघीय संसदको सार्वजनिक लेखा समिति सभापति पोखरेलले श्रीमतीको नामको निवेदन विद्यालयका प्रधानाध्यापक झंकनाथ पराजुलीलाई पठाएका हुन्। कोइराला विराटनगरको महेन्द्र रात्रि माविकी शिक्षिका हुन्।
उनीसहित २६ जनालाई प्रतिवादी बनाएर सहकारी ऐन अन्तरगत मुद्दा दायर भएपछि कोइराला विद्यालयबाट बिदा लिएर बसेकी थिइन् । उनको बिदा शुक्रबार सकिएको थियो। त्यसपछि ऋषिकेश पोखरेल मार्फत बिदा थपका लागि अञ्जला कोइरालाको पत्र आएको विद्यालय प्रशासनले बताएको छ ।
‘बिरामी बिदा’ भन्दै प्राप्त निवेदनमा बिदाको अवधि भने खुलाइएको छैन। सांसद पत्नी कोइराला, रंगेली नगरपालिका–२ का अध्यक्ष ४३ वर्षीय संतलाल खवास, सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियारलगायत २६ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत मोरङमा २७ मंसिरमा मुद्दा दर्ता भएको थियो।
यो मुद्दामा प्रतिवादी बनाइएका रोशन राजवंशी भने थुनामा छन् ।