काठमाडौँ। सीताराम विवाह पञ्चमी महोत्सवको लागि भारत उत्तर प्रदेशको अयोध्याबाट जन्ती आज जनकपुरधाम आइपुगेको छ । करिब पाँच सय साधुसन्त सहभागी जन्ती आज अपराह्न जनकपुरधाम आइपुगेको हो ।
मंसिर १२ गते अयोध्याबाट हिडेको जन्ती हिजो सोमबार राति महोत्तरीको मटिहानीमा आइपुगेर बास बसेका थिए। त्यहाँ मटिहानी नगरपालिकाले भव्य स्वागत गरेको थियो । आज बिहान त्यहाँबाट बिहान जन्ती जनकपुरका लागि हिडेको थियो ।
जनकपुरधाम आइपुगेका जन्तीको मेयर मनोज साहले औपचारिक रूपमा गरेका छन्। जनकपुरमा दुवै छेउमा उभिएका स्थानीय बासिन्दाले ‘जय सियाराम’ को नारा लगाउँदै पुष्पवृष्टिका साथ उनीहरूलाई स्वागत गरेका हुन् । जानकी मन्दिरमा कार्पेटमा उनीहरूको स्वागत गरिएको हो ।
उनीहरू आज भएको विवाह पञ्चमीको धनुषयज्ञमा समेत सहभागी भएका छन्। जन्ती चार दिनसम्म जनकपुरधाममा बास बस्ने छन्। उनीहरूको बास र भोजनको सम्पूर्ण व्यवस्था गरिएको जानकी मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
पाँच वर्षको अन्तरालमा विवाह पञ्चमी महोत्सवमा अयोध्याबाट आउने साधुसन्तको जन्ती यसपटक पनि आएका छन् । यस पटक विवाह पञ्चमी महोत्सवमा रौनक थपिएको छ ।
मंसिर १६ गतेदेखि सुरु भएको सप्ताहव्यापी विवाह पञ्चमी महामहोत्सव मंसिर २२ गतेसम्म चल्ने छ । आइतबार पहिलो दिन नगर दर्शन, दोस्रो दिन सोमबार फूलबारी लीला सम्पन्न भइसकेको छ भने आज धनुषयज्ञ महोत्सव मनाइँदै छ।
भोलि बुधबार तिल्कोत्सव, बिहीबार मटकोर र शुक्रबार विवाह पञ्चमी महोत्सव रहेको छ । शनिबार जन्तीमा आएका साधुशन्तको बिदाइ अर्थात् रामकलेवा गरी विवावशपञ्चमी महोत्सव विधिवत् सम्पन्न हुनेछ ।