महेन्द्रनगर (धनुषा) । आजदेखि सुरु भएको सप्ताहव्यापी रामजानकी विवाह पञ्चमी महामहोत्सव पहिलो दिन नगर दर्शन सम्पन्न भएको छ । विवाह पञ्चमीको पहिलो दिन आज जानकी मन्दिरको प्रांगणमा नगर दर्शन गरिएको हो ।
यो विधि हेर्नका लागि मन्दिर प्रांगणमा श्रद्धालु भक्तजन तथा दर्शनार्थीहरुको भीड लागेको थियो । भगवान् राम र लक्ष्मण पहिलो पटक प्राचीन मिथिलाको राजधानी जनकपुरधामको भ्रमण गरेको स्मरणमा प्रत्येक वर्ष विवाह पञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन नगर दर्शन विधि गरिन्छ ।
नगर दर्शन विधिमा राम लक्ष्मणको प्रतीकका रूपमा रहेका दुई बालकलाई नगर दर्शन गराइएको थियो । विवाह पञ्चमी महोत्सवका लागि नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत श्रद्धालुहरू आएका थिए । मिथिला नरेश राजा जनककी छोरी सीताको विवाहको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा विवाह पञ्चमी महोत्सव मनाइने गरिन्छ ।
धार्मिक, सांस्कृतिक र सामाजिक महत्वको यस पर्व आजदेखि भव्यताका साथ मनाउन सुरु भएको छ । भोलि १७ गते पुष्पवाटिका फूलबारी लीला, १८ गते धनुष यज्ञ र बरात आगमनको स्वागत पनि त्यही दिन हुन्छ । १९ गते तिलकोत्सव, २० गते मटकोर महोत्सव, २१ विवाह महोत्सव र २२ गते रामकलेवा उत्सवको आयोजनापछि साताव्यापी विवाह पञ्चमी महोत्सव सम्पन्न हुनेछ ।
अयोध्याबाट आएका अतिथिहरूलाई २३ गते स-सम्मान बिदा गर्ने चलन छ । प्रत्येक पाँच वर्षको अन्तरालमा विशेष रूपमा भारतको अयोध्या रामजन्मभूमिबाट जन्ती आउने प्रचलन अनुसार यस पटक यहाँ उत्साह अझै थपिएको जानकी मन्दिरका सहमहन्थ रामरोशन दास वैष्णले बताए ।