काठमाडौँ । डा. गोविन्द केसीले आवासीय चिकित्सकहरूको श्रम शोषणले सीमा नाघेको बताएका छन् ।
अस्पतालको सेवाको ठूलो हिस्साका लागि आवासीय चिकित्सकमा भर पर्ने निजी मेडिकल कलेजहरूले उनीहरूलाई दिनुपर्ने निर्वाह भत्ताको एक चौथाइ हाराहारी मात्रै दिइरहेको उनको भनाइ छ ।
त्यसैले हाल चिकित्सा शिक्षा आयोगले सबैतिर एकैनास कायम गर्न खोजेको निर्वाह भत्ता सम्बन्धी निर्णय तत्काल विनाशर्त कार्यान्वयन गर्न तथा त्यसो गर्न अटेर गर्ने सबै कलेजहरूमा स्नातकोत्तर कार्यक्रम सदाका लागि बन्द गर्न पनि केसीले माग गरेका छन् । उनले आज विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘निर्णय मान्ने कलेजहरूमा मात्रै उक्त तहका कार्यक्रम सुचारु गर्न सम्बन्धित पक्षहरूसँग जोडदार माग गर्दछु ।’
उनले आफूसँग विगतमा सरकारले गरेका सहमति कार्यान्वयन गर्न र चिकित्सक अनि स्वास्थ्यकर्मीहरूको समयसापेक्ष तलब सुविधा वृद्धि गर्न पनि माग गरेका छन् ।