काठमाडौँ । काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटिका लगाउने भीड छ । आइतबार बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा दिदी-बहिनी नहुनेहरूलाई भाइटिका लगाउन सुरु गरिएको हो ।
दिदी-बहिनी नहुनेका लागि वर्षमा (आज) एक दिन मात्रै बालगोपालेश्वर मन्दिर खुलाउने प्रचलन रहेको छ । बालगोपालेश्वर मन्दिर वर्षमा एक पटक आजैका दिन मात्र खुल्ने गर्दछ ।
दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटिकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गर्ने र टीका लगाउने गर्दछन् । तिहारको पाँचौँ दिन आज दिदिबहिनीहरुले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था निष्ठाका साथ दीर्घायु, आरोग्य ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार सप्तरंगी टीका लगाइदिने गर्दछन् ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिन्छन् । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ ।