गण्डकी । साहित्यकार दीपक सापकोटाको पहिलो उपन्यास ‘ठुटे’ आज पोखरामा लोकार्पण गरिएको छ ।
दीपशिखा साहित्य संगमद्वारा आयोजित कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले सो उपन्यासको लोकार्पण गरेका हुन् । कार्यक्रममा सरुभक्तले लेखनमा संख्याभन्दा गुणलाई ध्यान दिनुपर्ने उल्लेख गर्दै लेखक स्वयम्ले पठन संस्कृतिलाई बढावा दिनुपर्ने बताए ।
“दिनभरि तास खेलेर समय बिताउनेले पनि पढाइ र लेखाइका कुरामा भने फुर्सद नभएको बहाना बनाउँछन्”, उनले भने, “विश्वका कैयौँ बेफुर्सिदिला व्यक्तिहरूले पढेर नै सफल जीवन बाँचेका हुन् ।” साहित्यकार सापकोटाले ठुटेमा प्रस्तुत गरेको नेपाली समाजको यथार्थले पाठकको मन जित्ने उनले विश्वास व्यक्त गरे ।
कृतिको समीक्षा गर्दै पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले पहिलो उपन्यासमै उपन्यासकारले धेरै विषयवस्तु उठान गरेको र प्रस्तुत गरिएको कथावस्तु हाम्रै समाजको रहेको बताए । जनयुद्धकलाका घटनालाई यथार्थको नजिक रहेर लेखिएको उल्लेख गर्दै उनले उपन्यास आकारका हिसाबले सानो भए पनि विषयवस्तुका हिसाबले बृहत् रहेको धारणा राखे ।
कास्कीको मादी गाउँपालिकामा जन्मेर हाल बेल्जियम बस्दै आएका लेखक सापकोटाले आफूले कृति नेपाल हुँदै लेखे पनि प्रकाशनमा भने ढिलाइ भएको जानकारी दिए । कृति लेखनका क्रममा नेपाली सेना र युद्धसम्बन्धी थुप्रै कृति र चलचित्र हेरेको उल्लेख गर्दै उनले विषयवस्तुबारे बुझ्न विभिन्न ठाउँमा पुगेको स्मरण सुनाए । आफूले प्रत्यक्ष देखेका र पढेका घटनालाई उपन्यासमा उतारेको सापकोटाको भनाइ थियो ।
गण्डकी साहित्य संगमका अध्यक्ष भीम रानाभाटले अनुभूति सबैसँग हुने र तिनलाई जनताका लागि हुने गरी लेख्नुपर्ने आवश्यकता औँल्याए । दीपशिखा साहित्य संगमका अध्यक्ष रामजीप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सल्लाहकार रुपिन्द्र प्रभावी, कृतिका सम्पादक दशरथ सापकोटालगायतले आ-आफ्नो धारणा राखेका छन ।