काठमाडौँ । बाढी-पहिरोका कारण तिब्बतको खासामा रोकिएका मालवाहक कन्टेनर मंगलबार बिहानबाट नेपालको रसुवागढी नाका भित्रिन थालेका छन् ।
बाढी-पहिरोले रसुवा नाकाको केरुङतर्फको २४ किलोमिटर सडक क्षतिग्रस्त भएपछि दसैँ, तिहार र छठका लागि झिकाइएका व्यापारिक मालबस्तु एक महिनादेखि रोकिएका थिए ।
रसुवा प्रशासनका अनुसार बिहानबाट कन्टेनर तथा साना गाडी नेपाल भित्रन थालेका हुन् । चिनियाँ अधिकारीहरूले सामानसहित १३ टन तौल भएका मालवाहक गाडी मात्र एकतर्फी आउजाउ गर्न सक्ने सूचना हिजो नेपाललाई पठाएको थियो ।
चिनियाँ अधिकारीहरूले दिएको सूचना अनुसार कन्टेनरहरू बिहान केरुङबाट नेपाल आउने र बेलुकी नेपालबाट सामान बोक्ने खाली कन्टेनर केरुङ जाने तालिका मिलाइएको छ । आज बिहान केरुङबाट सामान लोड गरेका कन्टेनर तथा साना गाडी कम्तिमा ५० वटा भित्रने सूचना प्राप्त भएको रसुवा भन्सारले जनाएको छ ।
केरुङको गोदाममा राखेका र कन्टेनरमा लोड गरेको व्यापारिक मालबस्तु हजारौँ टन छन् । सीमित तौलको सामान बोकेको कन्टेनर मात्र आउजाउ गर्न पाउने भएकाले नेपाली व्यवसायीको मालबस्तु सहज रूपमा नेपाल भित्रिन धेरै समय लाग्न सक्छ ।