काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले नेपालले जलवायु परिवर्तनको प्रभावका कारण चरम मौसमी संकटको सामना गर्नुपरेको बताएकी छिन् ।
नेपाल रिपब्लिक मिडियाद्वारा आज काठमाडौँमा आयोजित ‘विश्वव्यापी जलवायु कार्यका लागि सगरमाथाको आह्वान’ विषयक अन्तरक्रियामा उनले यसबाट जनधनको क्षतिका साथै सडक, पुल, जलविद्युत् परियोजना र अन्य सार्वजनिक तथा निजी सम्पत्तिको क्षतिसमेत बेहोर्नु परेको उल्लेख गरिन् । परराष्ट्र मन्त्री डा. देउवाले भनिन्, “कम विकसित र पर्वतीय राष्ट्रहरू जस्तै नेपालले जलवायु परिवर्तनको गम्भीर र असमान प्रभावहरूको सामना गरिरहेको छ तर विश्वव्यापी जलवायु एजेन्डा र जलवायु प्रक्रियाहरूले विकासोन्मुख र पर्वतीय राष्ट्रहरूको दुर्दशा पर्याप्त रूपमा प्रतिबिम्बित गर्न सकेका छैनन् ।”
उनले जलवायुसम्बन्धी सम्मेलन (कोप २८) मा सञ्चालनमा आएको हानि र नोक्सानी कोषसहित सबै जलवायु कोष र सुविधाहरूलाई पर्याप्त रूपमा पुँजीकृत गर्नुपर्ने र विकासोन्मुख राष्ट्रहरूले सजिलै पहुँच प्राप्त गर्न सक्ने बनाउनुपर्ने बताइन् । अजरबैजानको बाकुमा हुने आगामी जलवायु सम्मेलन कोप-२९ मा जलवायु जोखिममा रहेका राष्ट्र, पर्वतीय राष्ट्रका आवश्यकता र प्राथमिकता तथा प्रभावकारी सहभागिताको तयारी भइरहेको उनको भनाइ थियो ।
“नेपालजस्ता राष्ट्रहरू जुन वैश्विक हरित गृह ग्यास उत्सर्जनमा नगण्य योगदान गर्छन्, ती जलवायु विपत्तिको सिकार हुनु गम्भीर अन्यायको विषय हो,” मन्त्री डा. देउवाले भनिन्, “जलवायु संकट निम्त्याउने कार्य गर्ने विकसित राष्ट्रहरूले विकासोन्मुख राष्ट्रहरूलाई अनुकूलन र लचिलोपन निर्माणका लागि पर्याप्त स्रोत, प्रविधि र अन्य सहयोग प्रदान गर्नुपर्छ ।”
कार्यक्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले सरकारले जलवायु परिवर्तनलाई गम्भीरता साथ लिएको उल्लेख गर्दै जलवायु परिवर्तनको असर कम गर्न अनुकूलन र कार्बन उत्सर्जन घटाउन न्यूनीकरणका साथै हानि र नोक्सानीलाई सम्बोधन गर्ने उपायहरूलाई प्राथमिकता दिएको जानकारी गराए ।
उनले भने, “जलवायु परिवर्तनको समस्या सृजना गर्नमा हाम्रो योगदान नगण्य भए पनि जलवायु संकटसमाधान गर्नमा नेपालले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्दै आएको छ ।” नेपालले सन् १९९२ को जलवायु परिवर्तन महासन्धि र सन् २०१५ को पेरिस सम्झौता अनुमोदन गर्नाका साथै आफ्नो प्रतिबद्धताहरू पूरा गर्दै आएको उनको भनाइ थियो ।
नेपालले सन् २०२० मा प्रस्तुत गरेको दोस्रो राष्ट्रिय निर्धारित योगदान (एनडिसी)मा नवीकरणीय ऊर्जा, वन क्षेत्र संरक्षण, विद्युतीय यातायात प्रवर्द्धनलगायत क्षेत्रमा अत्यन्तै महत्त्वाकांक्षी लक्ष्यहरू समावेश गरेका छौँ,” मन्त्री शाहीले भने, “यस योजनामा जलवायु अनुकूलन, हरित ऊर्जा र वातावरणीय संरक्षणका क्षेत्रहरूमा विशेष ध्यान दिइएको छ ।”
नेपालले २०५० सम्म कार्यान्वयन गर्ने राष्ट्रिय अनुकूलन कार्यक्रम तयार पारी कार्यान्वयन गरिरहेको बताउँदै उनले सन् २०४५ सम्ममा ‘नेट जिरो कमिसन’को लक्ष्य हासिल गरी नेपाल कार्बन उत्सर्जन घटाउँदै दिगो विकास र समृद्धि हासिल गर्न लक्ष्य राखेको बताए ।
मन्त्री ठकुरीले आगामी नोभेम्बरमा अजरबैजानको बाकु सहरमा आयोजना हुन लागेको कोप–२९ सम्मेलनको मुख्य केन्द्र विन्दुमा रहेको जलवायु वित्तका बारेमा ठोस निर्णय हुन आवश्यक रहेको बताए ।