काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालमा नवजात शिशुको वंशाणुगत रोग परीक्षण सेवाको उद्घाटन गरेका छन्।
उद्घाटन कार्यक्रममा मन्त्री पौडेलले यो सेवाले बाल मृत्युदर घटाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे। ‘बालबालिकाको मृत्युदर घटाउन र वंशाणुगत रोगको समयमा नै उपचार गर्नका लागि यो सेवा अत्यावश्यक छ,’ उनले भने।
मन्त्री पौडेलले अस्पतालको सेवामा थप २० शैय्या आइसीयू विस्तार गर्ने योजनाबारे जानकारी दिँदै, यसले मातृ शिशुको स्वास्थ्य सुधारमा टेवा पुर्याउने विश्वास व्यक्त गरे। साथै, जनशक्ति अभावको गुनासोलाई सम्बोधन गर्न छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई खटाउने घोषणा गरे।
त्यस्तै, उनले गर्भवती महिलाका लागि मासिक परामर्श सेवाको पनि उद्घाटन गरे। मन्त्रालयका सचिव हरि मैनालीले यो सेवा मातृ शिशु मृत्युदर घटाउनका लागि सकारात्मक थालनी भएको भन्दै मन्त्रालयबाट पूर्ण सहयोग रहने बताए।
अस्पतालका निर्देशक डा। श्रीप्रसाद अधिकारीले पाँच प्रकारका वंशाणुगत रोगहरूको परीक्षण सेवा प्रारम्भ भएको र यो सेवाको विस्तारले नवजात शिशु मृत्युदर कम गर्न सहयोग गर्ने जानकारी दिए।