धनुषा । मधेस प्रदेश सरकारले जनकपुरधाममा तीन वटा अत्याधुनिक शौचालय निर्माण गर्ने भएको छ ।
प्रदेश राजधानीसमेत रहेको पर्यटकीय विकास तथा विस्तारका लागि सौन्दर्यीकरण कार्यक्रम अन्तर्गत रु. तीन करोडको लागतमा शौचालय निर्माण गर्न लागिएको प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहन साहले जानकारी दिए । शौचालय निर्माणका लागि आवश्यकता र प्राथमिकताका आधारमा स्थानसमेत पहिचान गरिएको उनले बताए।
आज उपाध्यक्ष साहसहित जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साह, प्रदेशको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका निमित्त सचिव सुशील साहलगायत व्यक्ति सम्मिलित टोलीले जनकपुरधाम बसपार्क, राम मन्दिरको दक्षिणी भाग र कभर्डहल तथा मणिपालको बीचमा शौचालयका लागि जग्गा पहिचान गरिएको हो ।
यसैगरी उपाध्यक्ष साहसहितको टोलीले जनकपुरधाममै सांस्कृतिक पर्यटकीय पार्क निर्माणका लागि तिरहुतिया गाछीमा जग्गा यकिन गरेको छ । खुला जिमसहितको पार्क निर्माणका लागि प्रदेश सरकारले रु. ४० लाख विनियोजन गरेको जनाइएको छ ।