स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिका-१ बयरघारीमा बहुउद्देश्यीय सामुदायिक भवन निर्माण हुने भएको छ । क्षेत्री समाज नेपाल केन्द्रीय समिति र भीरकोट नगर कार्यसमितिका संयुक्त साझेदारीमा तीन तले भवन बन्न लागेको क्षेत्री समाज भीरकोटका अध्यक्ष मीनबहादुर केसीले जानकारी दिए।
उनका अनुसार सात हजार एक सय ६५ वर्ग फिट क्षेत्रफलमा फैलने भवन रु. तीन करोडको लागतमा निर्माण हुनेछ । “भवन क्षेत्री समाजले निर्माण गरे पनि सबै जातजातिले प्रयोग गर्न पाउँछन्”, उनले भने “भवन निर्माणमा लाग्ने सबै खर्च शुभेच्छुकहरूसँग संकलन गरिने छ ।”
क्षेत्री समाज भीरकोटका सचिव लेखबहादुर केसीले भवन निर्माणका लागि नगरपालिकाले रु. १० लाख विनियोजन गरेको र शुभेच्छुकबाट हालसम्म रु. १२ लाख सहयोग जुटेको बताए। उनले भने “हामीले बहुउद्देश्यीय भवनको शिलान्यास भएको छ । अबको दुई वर्षभित्र आर्थिक सहयोग जुटाएर भवन निर्माणको काम सम्पन्न हुनेछ ।”
सामुदायिक भवनमा सात सय अट्ने सभा हल, कार्यालय भवन, व्यापारिक सटर रहने छन् । भवनको भीरकोट नगरपालिकाका प्रमुख गोविन्द कुमार कर्माचार्य र समाजका अध्यक्ष केसीले संयुक्त रूपमा शिलान्यास गरेका थिए। भवन निर्माण सम्पन्नपछि सर्वसाधारण, संघसंस्थालाई विभिन्न कार्यक्रम गर्न र व्यापार गर्न सहज हुने अपेक्षा राखिइएको छ ।