काठमाडौँ । सुर्खेतको कर्णाली प्रदेश अस्पतालमा सुत्केरीको मृत्यु भएपछि अस्पताल परिसर तनावग्रस्त बनेको छ । सोमबार बिहान वीरेन्द्रनगर नगरपालिका–६, की १९ वर्षीय शर्मिला कुमालको उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले प्रशासनलाई बतायो ।
मृतक महिलाका आफन्तहरूले डाक्टरहरूको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै आन्दोलन गरेका हुन् । आफन्तले आन्दोलन गरेपछि अहिले त्यहाँ प्रहरी तैनाथ गरिएको छ ।
स्रोतका अनुसार आइतबार सुत्केरी बेथा लागेर अस्पताल भर्ना भएकी उनले गए राती नै मृत शिशुलाई जन्म दिएकी थिइन् । त्यसपछि अत्याधिक रक्तस्राव भएको र आइसियुमा राखेर उपचार गर्दै गर्दा उनको मृत्यु भएको हो ।