काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको इन्धन भण्डारणलाई उपयुक्त स्थानमा निर्माण गरी स्थानान्तरण गर्ने जनाएको छ ।
आइतबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति सचिव एवं नेपाल आयल निगमका अध्यक्ष मधुसूदन बुर्लाकोटीले विमानस्थलभित्र रहेको इन्धन भण्डारणलाई अर्को उपयुक्त स्थानमा निर्माण गरी मात्र स्थानान्तरण गर्न सकिने बताए।
उनले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन(आइकाओ) को नियमअनुसार एटीएफको न्यूनतम् भण्डारण विमानस्थलको क्षेत्रभित्र नै रहनुपर्ने भएकाले भण्डारण विमानस्थलभित्रै राख्नुपर्नेमा जोड दिँदै यसले सहज आपूर्ति र गुणस्तर सुनिश्चित गर्न मद्दत गर्नेसमेत बताए। साथै, भण्डारण स्थल मानव बस्ती र विमानस्थललाई असर नपर्ने गरी भूमिगत बनाइने योजना रहेको पनि उनले उल्लेख गरे।
यद्यपि प्रधानमन्त्रीको निर्देशनअनुसार, काठमाडौँ उपत्यकाका केही स्थानहरूमा विकल्प खोजिने पनि उनले बताए।
बुर्लाकोटीका अनुसार, विमानस्थल र मानव बस्तीको सुरक्षा सरकारको प्रमुख दायित्व रहेको र यस सन्दर्भमा आयल निगमले आफ्नो भूमिका निर्वाह गर्नेछ।

विमानस्थलको सञ्चालन, व्यवस्थापन तथा सुरक्षाको सम्पूर्ण दायित्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणको भएकाले उपयुक्त जग्गाको पहिचान र निर्णयमा ती निकायका उच्च नेतृत्वको सहभागिता आवश्यक भएको बुर्लाकोटीले सुझाए। केही सांसदहरूले यस विषयमा प्रश्न गर्दा कर्मचारीहरू नाजवाफ रहेका थिए।
निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको इन्धन भण्डारणको स्थानान्तरण गर्न निगम तयार भए पनि जग्गा अभावका कारण काम अघि बढ्न नसकेको स्पष्ट पारे। उनले जग्गा उपलब्ध भएमा तुरुन्तै काम सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले भने,’यदि यो समितिले नागरिक उड्डयन प्राधिकरणलाई तुरुन्तै जग्गा उपलब्ध गराउन निर्देशन दियो भने, हामी तयारी अवस्थामा छौँ। हामीले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउन पनि पाएका छैनौँ। गत आर्थिक वर्षमा बजेट विनियोजन गरे पनि जग्गा उपलब्ध नभएकाले काम अघि बढाउन नसकेको अवस्था छ।’