काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले संविधान संशोधन तथा परिमार्जनका लागि विज्ञहरू सम्मिलित संविधान पुनरावलोकन आयोग गठन गर्न माग गरेको छ ।
साउन २७ देखि ३० गतेसम्म चलेको जसपा नेपालको केन्द्रीय समिति बैठकले संविधान पुनरावलोकन आयोग गठन गरी त्यसको राय सुझाव र सिफारिसमा आधारमा मात्र संविधान संशोधन गर्नुपर्ने निर्णय गरेको छ ।
केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्दै अध्यक्ष उपेन्द्र यादवले शनिबार भनेका छन्, ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधान संशोधन/पुनर्लेखन/परिमार्जन गर्नका लागि संविधान विज्ञहरू सम्मिलित संविधान पुनरावलोकन आयोग गठन गरी राय सुझाव र सिफारिसका आधारमा गरिनुपर्छ ।’
जसपा नेपालले संविधान संशोधन गरी स्थानीय तहलाई प्रदेश सरकारको क्षेत्राधिकारभित्र राख्न पनि माग गरेको छ । त्यस्तै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, समानुपातिक समावेशी प्रतिनिधित्व भएको संघीय न्याय प्रणाली, राष्ट्रिय र जातीय पहिचानमा आधारित स्वशासनसहितको राज्य संरचना बनाउन पनि माग गरेको छ ।