काठमाडौँ । मधेस प्रदेशको जम्बो मन्त्रिपरिषद्विरुद्ध जनकपुरधाममा जसपा नेपालका युवाहरूले कुर्सी जुलुस निकालेका छन् ।
जसपा नेपाल निकट समाजवादी युवा संघका कार्यकर्ताहरूले कुर्सी बोकेर मधेस सरकारविरुद्ध नाराबाजी गरेका हुन् । रामानन्द चौकबाट निकालिएको कुर्सी जुलुस नगरको विभिन्न भागमा परिक्रमा गर्दै जनक चौक पुगेर कोणसभा गरेको छ ।
मंगलबार मुख्यमन्त्री सतीकुमार सिंहले पाँच राज्यमन्त्री थपेका थिए । योसँगै मन्त्रिपरिषद् २० सदस्यीय भएको छ । मधेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १२ मन्त्रालय छ ।
समाजवादी युवा संघ मधेस प्रदेशका उपाध्यक्ष कमलेश यादवले वर्तमान सरकारले राज्यकोष लुट्न जम्बो मन्त्रिपरिषद् बनाएकाले विरोध गरेको बताए ।
उनले सत्तारुढ दलहरूले प्रदेशलाई बदनाम गरेको आरोप पनि लगाए ।