काठमाडौँ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउँदै देशमा आर्थिक र सामाजिक रूपान्तरण गर्ने अभियान थालेको बताएका छन् ।
आइतबार लेखापरीक्षकहरुको संस्था नेपाल अडिटर्स एशोसियन (अडान) को १९ औँ स्थापना दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री पौडेलले जनतामा छाएको निराशा चिर्ने र आशा जगाउने कुरामा सरकारको विशेष ध्यान रहेको बताए ।
उनले सात दशक लामो संघर्ष गरेर व्यवस्था बदलेको तर जनताको अवस्था परिवर्तन गर्न नसकेको भन्दै अब जनताका अधिकारलाई उपयोग गर्ने परिस्थिति बनाउनेतर्फ सरकार केन्द्रित रहेको बताए । मुलुक आर्थिक रूपमा सक्षम नभएसम्म संविधानमा लेखेका अधिकारहरू जनताले उपभोग गर्न नपाउने भन्दै उनले अब सामाजिक र आर्थिक रूपान्तरमा लाग्नुपर्नेबारे सरकार प्रतिबद्ध रहेको बताए ।
उनले भने, ‘अहिले सरकारले जनतामा छाएको निराशा चिर्ने र आशा जगाउने दुई वटा कुरामा विशेष ध्यान दिएको छ । सरकारको यो नै महत्त्वपूर्ण कार्यभार र ठम्याई हो भन्ने छ । हामीले सात दशक लामो संघर्ष गरेर व्यवस्था बदल्यौँ । संविधान बनायौँ । संविधानमा सम्पूर्ण जनताका अधिकारलाई समावेश गराइएको छ । दुनियाँका कुनैपनि लोकतान्त्रिक मुलुकहरूको संविधानसँग तुलना गर्दा हाम्रो संविधान अगाडि नै छ । संविधानमा उल्लेख नागरिकका अधिकार जनताले उपयोग गर्ने परिस्थिति बन्न बाँकी छ । त्यसकारण यो सरकार अब सामाजिक र आर्थिक रूपान्तरमा लाग्नुपर्छ भन्ने मिसनमा केन्द्रित छ ।’