काठमाडौं । ललितपुरमा लागु औषधसँग सम्बन्धित मुद्दाको संख्या एक वर्षमा तेब्बरले वृद्धि भएको छ । औषधीजन्य लागु औषध ‘फर्मास्युटिकल्स ड्रग्स’ बरामद र प्रयोगको संख्या ह्वात्तै बढेको ललितपुर प्रहरी प्रवक्ता नरेशराज सुवेदीले बताए ।
उनका अनुसार आर्थिक वर्ष २०८०र८१ मा २ सय ३ जनाविरुद्ध एक सय १६ वटा लागु औषधका मुद्दा दर्ता भएका छन् । गत वर्ष लागु औषधी सम्बन्धी कसुरको मुद्दा दर्ता संख्या ५४ थियो ।
केही समयअघि ललितपुरमा एक युवक कोठामा मृत भेटिएका थिए । ती युवकले लागु औषधको ओभर डोज लिएको प्रारम्भिक अनुमान थियो । घटनास्थलबाट औषधीजन्य लागु औषधहरू पनि बरामद भएका थिए ।
लागु औषधको प्रयोग र दुर्व्यसनीको संख्या कम गर्न जिल्ला प्रहरी परिसर ललितपुरले लागु औषधको जोखिममा परेका समूहको पहिचान गरी त्यस्ता लक्षित समूहमा विभिन्न किसिमका सचेतनामूलक कार्यक्रमहरू गरिरहेको एसपी सुवेदीले बताए ।