म केही समय क्यानडा घुम्दा के लाग्यो भने प्रकृतिले अनुपम चिजहरु दिएको छ, जसलाई राज्यले सिंगार पटार गरिदिन्छ र सबैलाई त्यस क्षेत्रमा जाउँ जाउ लाग्ने गर्दछ । नयाँ ठाउँमा जाने कुनै नौलो जानकारी लिने र जीवनलाई आनन्दित तुल्याउने हो । जीवनको आनन्द धेरै कुराहरुमा हुन सक्छ । त्यस मध्येको एउटा आनन्द घुम्नु पनि हो । एक्लै घुम्नु र समुहसँग घुम्नु पनि फरक हुन सक्छ तर मलाई समुहसँगको घुमाई नै आनन्द लाग्ने हो । यो घुमाइलाई प्युठान नगरपालिकाले मेरा लागी पनि अवसर जुराइ दियो त्यसको लागी धन्यवाद ।
प्युठान नगर पालिकाको न्यायिक समितिले प्युठान नगरपालिकामा सुचिकृत बहुसंख्यक मेलमिलाप कर्ताहरुलाई मुगुको रारा छायानाथ नगर पालिका र दैलेखको दुल्लु नगरपालिकासंग स्थानीय तहहरुमा आउने बिबादहरुको सम्बन्धमा न्याय सम्पादन र न्यायिक निरुपण गर्ने सवालमा आफना अनुभवहरुको आदान प्रदान गर्ने अन्तरक्रियात्मक कार्यक्रम राखेको थियो त्यो नै भ्रमणको उद्देश्य थियो । सोही अनुरुप २०८१ बैसाख २८ गते देखि जेष्ठ १ सम्म ५ दिनको यात्रा तय गर्दै हिडका थियौ । न्यायिक समितिका संयोजक देबेन्द्र ब्रहमाको नेतृत्वमा अन्य सदस्यहरु बिकास के.सी र गायत्री बिष्ट सहित ३५ जनाको टोली बिहान ६ बजे नै प्रस्थान गरेका थियौ । हाम्रो पहिलो दिननै कालिकोट टेक्ने मनसाय थियो तर दैलेखको राकमलाई नै त्यस दिनको बिश्राम स्थल बनाउन पुग्यौ ।
मलाई कर्णालीको यात्रा गर्दा छुट्टै खालको आनन्द आउने गर्दछ । आज भन्दा ११ बर्ष अगाडि पनि कर्णालीको यात्रा गरेको थिए तर त्यतिबेला जागिरे जीवनको मेरो उद्देश्य अलि भिन्न खालको थियो तर यस पालि रारासम्म पुग्ने कौतुहलता भिन्न प्रकारले तरङ्घित बनाएको थियो । नेपाली भाषाको उत्पत्ति सिंजा , बाह्रौ शताव्दीका राजा नागराजले स्थापना गरेको जिल्ला । कुस्ती खेलेर राज्य जित्ने इतिहास । मल्ल र रैका वा राय राजबंशको थलो आदि कारणले पनि मलाई रारासम्म पुग्ने धोको थियो । ऐतिहासिकता बोकेको कर्णाली राज्य सिंजा राज्यले दिएको अबसरलाई याहा पस्किने जमर्को गरेको छु ।
हामी दोस्रो दिन बिहानै राकमबाट हिंडेका थियौं । बिहानको खाजा खान कालिकोटको मान्म पुगेका थियौ भने दिउसोको खानाको लागि कालीकोटको नाग्मा पुगेका थियौं । नाग्मा हिमा र तिला नदीको संगम पनि हो । हिमा नदी सिंजा उपत्यकालाई सिंचित गर्दै आउदछ भने तिला जुम्ला उपत्यकालाई सिंचित गर्दै आउने गर्दछ । दुइवटा नदी मिसिए पछि जुम्ला कर्णालीको नामले चिनिन्छ ।
पर्यटकीय क्षेत्रलाई स्थानीयहरुले नसघाउने हो भने न त त्यस क्षेत्रको बिकास हुन्छ न त जाने मान्छे नै त्यता जान उत्साहित हुन्छ हाम्रो यात्रामा नाग्माबाट सिंजा लाग्ने मुखैमा एउटा ठेकेदार कम्पनिले ढुङ्गा निकाल्ने नाममा एक घण्टा कुराइ दियो जुन कार्य उस्ले हामीलाई छाडन ३ मिनेट पनि लाग्दैनथ्यो । १ घण्टा पछि पनि हामीलाई छाडिदिएर फेरी त्यही गरयो । यसले याहा एउटा ठेकेदार कम्पनिको दम्भलाई सहजै थाहा पाउन सकिन्छ ।
वीचमा बगेको हिमा नदीले सिंजा उपत्यकालाई भरिलो बनाएको रहेछ । जौं पाकेर कतै पहेलपुर थियो भने कतै हरियो पनि थियो । सिंजा लाग्दा देखि नै पक्की सडक छाडी सकेका थियौ तर कालीकोटमा देखिएका थुम्का जत्रा ढुङ्गा पत्रे चट्टानकै आकारमा बसेका थिए । तिनै ढुङ्गासंग मितेरी लगाउँदै बनेको कर्णाली राजमार्गमा कोही कहालिन्थे भने कोही प्रकृतिको छुट्टै रसको रुपमा लिएर यात्रा गरिरहेका थिए । हामी चट्टानी बाटोबाट अगाडि बढी सकेका थियौ जुन कालिकोटको पक्की सडक भन्दा सुगम थियो । नाग्माबाट हिंडेको ३ घण्टामा गोठी जिउला अर्थात त्यसलाई सिंजा उपत्यकाको अन्तिम किनारको रुपमा लिंदा रहेछन त्याहा पुग्यौ । सिंजा उपत्यका खासमा हिमा गाउपालिका भित्र पर्दो रहेछ । कुनै कुनै ठाउमा कालो पत्रे पनि बनाई रहेको रहेछ । यसबाट पनि कर्णालकिो बिकासलाई केही सघाउ पुराउँदैछ भन्ने भान पर्न गयो । गोठी जिउलाबाट ३ घण्टामा बुलबुले पुगेका थियौ । हरियो पाटनमा भेंडा घोडा गाई भैंसी चरिरहेका थिए भने भोटे कुकुरले एक छेउमा बसेर गोठालो गरेको देख्दा अनौठो लागेको थियो । बुलबुलेबाट ६ बजे भित्रमा मुगु तर्फ प्रस्थान गरिसक्नु पर्दो रहेछ अन्यथा निकुञ्जको टुकडीले प्रबेशमा रोक लगाउदो रहेछ । बुलबुले जुम्ला र मुगुको सिमाना पनि रहेछ । हामी जति उकालो लाग्दै थियौं त्यति चिसो चिसो बढदै थियो । हुनत रारा क्षेत्र घुम्नु भनेकै अप्रिल देखी जुन सम्म र सेप्टेम्बर तथा अक्टोवरलाई राम्रो मानिदो रहेछ । हाम्रो यात्रा उपयुक्त समयकै थियो । हामी त्यस दिन राराको मुर्माकोट पुग्ने उद्देश्य थियो जहाबाट कर्णालीको पाचवटा जिल्ला मुगु,हुम्ला,डोल्पा, जुम्ला र कालिकोट तथा बाजुरा,अछाम,बझाङ र दैलेख गरी नौ वटा जिल्लाको भुगोल हेर्न सकिन्थ्यो । त्यसैले पनि हामीलाई त्याहा जाने मन थियो तर हामी रारा पुग्दा अध्यारो भै सकेको थियो त्यसैले हाम्रो बास स्थान रारा नजिकै सल्लेरीमै रहयो । सल्लेरीमा साथिहरुले मादल निकाले गित निकाले सिमसिम पानीको वीचमा नाचगानले छुट्टै रमाइलो भएको थियो । यात्रामा कर्णालीलाई धेरैले मोबाइलमा कैद गरिरहेका थिए ।
तेस्रो दिन बिहान सल्लेरीबाट पौने घण्टाको पैदल यात्रामै रारा ताल पुग्यौ । राराताल नेपालकै सबै भन्दा ठुलो झण्डै ५ कि.मि. लम्बाइ र १.७ देखी २ं.७ कि.मि. चौडाइ रहेको उक्त ताल १६७ मि. गहिरो रहेछ । जस्तो आकाश त्यस्तै रंगिन देखिने तालको पानी कति मनमोहक छ कसरी बर्णन गरौं । झण्डै ३ हजार मिटर अग्लो स्थानमा रहेको उक्त तालको पानीको निकास निसार खोलामा गइ मुगु खोलामा मिसिदो रहेछ । तालको उत्तर पश्चिममा मुर्माकोटको चुचुरा , दक्षिणमा चुचेमारा , उत्तरमा रुम काँध मालिका काँध रहेछ । यि चुचुराहरु ३६०० देखी ४००० मिटर भन्दा माथि अबस्थित रहेछन । यिनै चुचुरोबाट सैपाल,कान्जिरोवा,चङखेली,छायानाथ,पञ्चमुखी जस्ता हिमाल तथा हिम श्रृङला हेर्न पाइदो रहेछ तर ति चुचुरातर्फ जाने हाम्रो धोको भने समय व्यबस्थापन गर्न नसक्दा अधुरै रहयो ।
रारा क्षेत्रको संरक्षणको लागी नेपालको सबै भन्दा सानो राष्ट्रिय निकुञ्ज स्थापना गरिएको रहेछ साहेद त्यसैले होला रारा र छाप्रा गाउँका १६५ घर परिवारलाई बाके जिल्लामा ल्याइ स्थानान्तरण गरिएको रहेछ । अहिले उनीहरुको बास स्थान रहेको स्थानमा सल्ला , तालिसपत्र, धुपी खस्रु, ओखर ,भोजपत्र लगायत कोण धारी जङ्गल अर्थात चौडापाते जङ्गल र घाँसे मैदान रहेछ । जसले तालको मनमोहकता बढाइ दिएको रहेछ । तालको वारीपारी गर्न बोटिंगको व्यबस्था पनि रहेछ । १० मिनेटको १०० रुपैया , एउटा किनारबाट अर्को किनारको लागी ५०० रुपैया र फर्केर आउँदा अर्को ५०० रुपैया गर्दा रारामा बोटिंगको लागी १००० रुपैया लाग्दो रहेछ । तालको किनारै किनारको दररेट अर्को रहेछ । तर यि सबै बोटिंगको कार्य मध्यान्ह १२ बजे भित्रमा गर्नु पर्दो रहेछ अन्यथा हावाको कारणले बन्द गर्दा रहेछन । रारामा पाइने कालो असला माछा बिशेष महत्व रहेछ तर त्यो पाउन सकिएन । मुर्माकोट, मालिका काँध वा रुम काँधमा पुग्न त्यस क्षेत्रमा झण्डै २५० जति घोडाहरुको व्यबस्था गरिएको रहेछ । ति कोट र काँधमा रहेका होम स्टेहरुसंग सम्पर्क गरेमा घोडाहरु पठाइ आथित्यता गराउँदा रहेछन । सल्लेरी देखी रारा र राराबाट सल्लेरीसम्म आउनलाई कसैलाई घोडा चाहिएमा घोडा उपलव्ध गराउँदा रहेछन । हाम्रो केही टोलीले पनि घोड चढीको मजा लिएका थिए त्यसमा म पनि सामेल थिए भने कसैले बोटिंगको मजा लिएका थिए । रारामा पुग्दा महेन्द्रनगर , दाङ , नेपालगञ्ज , पोखराबाट गएकाहरुलाई पनि भेटेका थियौं ।





ताललाई पेशासंग जोडेका मुगालीहरुको ठुलो अपेक्षा पनि देखिएन । सामान्य आफनो जीवन निर्वाहमा रमाइ रहेका थिए । होटलमा बसाइको व्यबस्थापनमा त्यति ध्यान पुराएको त मानिएन तर उनीहरु मेहनती छन भन्ने उदाहरण हामी बसेको हाटलका २०।२१ बर्षका जोडिले हामीलाई खाने बस्ने व्यबस्था राम्रोसंगे सके जती गरेका थिए । हिन्दुहरुको पबित्र पीठ मध्ये छायानाथ पीठ पनि रहेछ जुन यसै जिल्लामा पर्दो रहेछ । महादेवले सतिदेवीलाई बोकेर हिंडदा सबै अङ्ग पतन हुँदै जाँदा अन्त्यमा छायानाथ पुग्दा महादेवसंग रहेको बाँकी भाग त्यही पतन भएकोले त्यसलाई छायानाथ पीठकोे रुपमा लिंदा रहेछन तर हामी त्याहा पुग्न सकेनौ ।




हाम्रो मुख्य काम रारा छायानाथ नगर पालिकामा थियो । नगर प्रमुख बिष्णु कुमार भाम र उप प्रमुख ऐश्वर्या मल्लले उक्त कार्यक्रममा न्याय सम्पादन र निरुपणका साथै नगर पालिकाको गतिबिधिको बारेमा आफना भनाई राख्नु भएको थियो हाम्रो तर्फबाट उप प्रमुख देवेन्द्र ब्रह्मा र निर्वतमान उपप्रमुख शान्ता आचार्यले नगरपालिकाले गर्ने न्याय सम्पादन र निरुपणको बारेमा भनाइ राख्नु भएको थियो । बसाइको सानो कोठामा हाम्रो भ्रमणटोली सबै अटाउन सकेनन त्यसैले उहाहरुलाई प्युठानको लागी आउन निमन्त्रणा गर्दै २ बजे गमगढीबाट हिडेका थियौ । ताल्चा बिमान स्थलको छेउबाट हाम्रो यात्रा कालीकोटको नाग्मा पुग्ने उद्देश्यका साथ अगाडि बढयौ । मौसमका कारणले ३ दिन देखी बिमान आउने जाने गरेका थिएनन । नागरिकहरु आफनै बल जफतीले अगाडि बढने हो राज्यले कुनै सिंगार पटार सुबिधा पुराउन सकेको देखिएन । जडीबुटी र त्यहा उत्पादित बस्तुको बजारी करणको राज्यले दीर्घकालिन सोच राखेको पाइएन । स्वास्थ्य शिक्षा सामाजिक सुरक्षाको अनुभुतीका साथै पर्यटकीय हिसाबले थुम्का,पाटन,पदमार्गलाई पर्यटकीय स्थानको रुपमा बजारीकरण र व्यबस्थापन गर्न सके रारालाई नबदुलहीको रुपमा कतिले स्वीकार्दा हुन । हिमालबाट बग्ने नदीको थोपा थोपा पानीलाई बजारी करण गर्न सके नेपालीहरुको सुखी समृद्धिलाई कसैले रोक्न सक्ने थिएन । यस्तै हुटहुटीमा पनि कर्णालीको यात्रालाई थकान लाग्न दिएका थिएनौ ।

