काठमाडौँ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदहरूले सबैभन्दा बढी आलोचना भौतिक पूर्वाधार मन्त्रालयको विनियोजनमाथि गरेका छन् । सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको आलोचना गरेका हुन् ।
एमालेका सांसद रघुजी पन्तले भौतिक पूर्वाधार तथा यतायातमन्त्री रघुवीर महासेठलाई मन्त्री एउटा निर्वाचन क्षेत्र र जिल्लाको मात्रै नहुने कुराको ख्याल गर्न सुझाएका छन् ।
भौतिक पूर्वाधार मन्त्रालयको विनियोजनबारे छोटो टिप्पणी गरेका पन्तले भने, ‘म भौतिक योजना मन्त्रालयबारे धेरै टिप्पणी गर्न चाहन्न, सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले धेरै कुरा भनी नै सक्नुभएको छ । म एउटै मात्र कुरा भन्न चाहन्छु मन्त्री एउटा निर्वाचन क्षेत्र र जिल्लाको मात्रै हुँदैन, ऊ सिंगो देशको हुन्छ ।’
सांसद पन्तले सांसदहरूले पनि आफ्नो निश्चित क्षेत्र र समुदायको मात्रै होइन भन्ने मनस्थिति राख्नुपर्नेमा मन्त्रीले त झन् देशको प्रतिनिधित्व गरिरहेको छु भन्ने ख्याल गर्नुपर्ने बताए ।
‘मन्त्री मात्रै होइन, विभिन्न समुदायलाई सामुदायिक रूपमा प्रतिनिधित्व गरेर आउनुभएको सांसद, लैंगिक रूपमा प्रतिनिधित्व गरेर आउनुभएको सांसद, क्षेत्रगत रूपमा प्रतिनिधित्व गरेर आउनुभएको सांसद, हुनुस् अथवा निर्वाचन लडेर आउनुभएको सांसद हुनुस्, उहाँहरू एउटा क्षेत्र, समुदाय, जात र लिंग विशेषको मात्रै सांसद हुनुहुन्न,ु पन्तले सम्झाए, ‘सांसद पनि सिंगो देशको हुन्छ । त्यो सिंगो देशलाई बोक्ने ल्याकत देखाउन सकिन्छ कि सकिन्न त्यो आफूमा भर पर्ने कुरा हो र त्यो तपाईँ हाम्रो कामले सांसदका अभिव्यक्तिले मन्त्रीका कमहरूले ती कुराहरूलाई व्यक्त गर्छ । म भौतिक योजना मन्त्रालयबारे यहाँभन्दा बढी टिप्पणी गर्न चाहन्न ।’