नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चौतर्फी घेराबन्दीको बीच नेकपा एमाले मजबुत शक्ति बनेको बताएका छन् ।
एमाले नुवाकोटको आठौँ जिल्ला अधिवेशनको लिखु गाउँपालिका-२ ढिकुरेमा आज उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले गत प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा अस्वभाविक गठबन्धन गरेर एमालेलाई सिद्ध्याउन बनाएका योजना असफल भएको बताएका हुन् ।
“जनताबाट पाएको साथको उपयोग गरेर आगामी दिनमा जस्तोसुकै कठिन परिस्थितिमा विपक्षीलाई परास्त गर्न सक्ने सङ्गठन बनाउन नेता/कार्यकर्ता लाग्नुपर्छ”, उनले भने, “नेतृत्व चयनमा लोकप्रिय व्यक्ति चुन्न, पार्टी सदस्यता दोब्बरले वृद्धि गर्न र जनताको मागअनुसार सेवा पुर्याउन केन्द्रित हुनुपर्छ ।”
‘सुखी नेपाली स् समृद्ध नेपाल’ एमालेको लक्ष्य भएकाले विकास निर्माणका गतिविधि, उत्पादन र रोजगारीमार्फत त्यसलाई पूरा गर्न एमालेकै नेतृत्वमा सरकार गठन हुनुपर्ने उनको भनाइ छ । व्यवस्था परिवर्तनका लागि अधिकारको लडाइँ टुङ्गिएकाले अब भ्रष्टाचार, अनियमितता, बेथिति तथा समाजका कुरीतिविरुद्ध लड्नुपर्ने धारणा राखे। उनले रोकिएका विकास निर्माणका काममा नेतृत्व लिएर जनताको सेवामा लाग्न पार्टीका नेता(कार्यकर्तालाई निर्देशन दिए ।
मङ्गलवारदेखि सुरु भएको एमाले नुवाकोटको आठौँ अधिवेशनअन्तर्गत बुधबारदेखि बन्दसत्रमार्फत नयाँ नेतृत्व चयन हुने वर्तमान जिल्ला अध्यक्ष बद्री मैनालीले जानकारी दिए । उनका अनुसार अधिवेशनले जिल्ला अध्यक्ष, उपाध्यक्ष, सचिव, एकजना महिलासहित दुईजना उपसचिवसमेत गरी एकसय पाँच सदस्यीय नयाँ जिल्ला कमिटी चयन गर्नेछ ।