काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सरकारमा रहे पनि कुनै छलफलमा सहभागी हुन नपाएको र आफूहरू अपमानित भएर बसिरहेको भन्दै विपक्षी गठबन्धनका शीर्ष नेतासँग दिक्दारी पोखेका छन् ।
काँग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बुधबार साँझ माधव नेपाल, महन्थ ठाकुर र उपेन्द्र यादवसहितका नेताहरूको भेटमा नेपालले दिक्दारी पोखेका हुन् । प्रमुख सचेतक मेटमणि चौधरीसहित देउवा निवास पुगेका नेपालले जसपा विभाजनपछि अन्योल थपिएको बताएका थिए ।
शीर्ष बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीले जसपा फुटाएको र नेकपा एस पनि विभाजन गर्न अध्यादेशमार्फत राजनीतिक दलसम्बन्धी ऐन संशोधनको सम्भावना कायमै रहेकोबारे समेत छलफल भएको थियो । काँग्रेसलाई सदन अवरोध खुलाउन माधव नेपालको समेत आग्रह रहेको नेताहरुले बताएका छन् ।
सर्वोच्च अदालतले जसपा विभाजनसम्बन्धी उपेन्द्र यादवको मुद्दामा दिने फैसलापछि नयाँ मुभ लिन सकिने एक नेताले बताए । नेताहरूको छलफलमा अदालतमा विचाराधीन मुद्दाको बारेमा समेत सामान्य छलफल भएको स्रोतले जनाएको छ ।
बुधबारको छलफलमा मधेश सरकारमा जसपाका मुख्यमन्त्री सरोज यादवलाई जोगाउनेबारे छलफल भएको छ । त्यस्तै सुदूरपश्चिममा नेकपा एसका मुख्यमन्त्रीलाई विश्वासको मत दिए पनि एमाले सरकारमा सहभागी नभएको सन्दर्भमा काँग्रेसको सहयोग आवश्यक पर्नेबारे समेत छलफल भएको छ ।
माधव नेपाल सत्तापक्षमा रहे पनि असन्तुष्ट छन् । आफूलाई रमिते बनाइएको र कुनै छलफल तथा बैठकमा नबोलाइएकोमा उनले अपमानित महसुस गरेका छन् । केही समय पर्खेर हेर्ने तर यही अवस्थामा नबस्ने उनले पार्टीका आन्तरिक बैठकमा बताएका छन् । बजेट र नीति कार्यक्रममा समेत आफ्नो पार्टीलाई बाइपास गरिएको नेपालको भनाइ छ ।
देउवाले बोलाएको विपक्षी दलहरूको बैठकमा माधव नेपालको उपस्थिति त्यसैको संकेत भएको नेकपा एसका नेताहरुले बताएका छन् । यद्यपि बुधबारको छलफल मधेश प्रदेशको सरकारका बारेमा केन्द्रित रहेको चौधरीले बताए । एमाले, माओवादी र जनमतले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि नेकपा एसलाई उनीहरूले सहभागी नगराएकाले आफूहरू स्वतन्त्र ढङ्गले छलफल गर्न गएको उनको भनाइ छ ।