काठमाडौँ । ठूलो परिमाणमा रंग मिसाएको मासको दाल र ढुसी परेको राजमाको दाल नष्ट गरिएको छ । खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय नेपालगन्ज बाँकेले गरेको परीक्षणमा मासको दाल र राजमा गेडामा कैफियत भेटाएसँगै नष्ट गरेको हो ।
राजमा गेडाको नमुना परीक्षण गर्दा ढुसी परेको, कुहिएको र अस्वभाविक गन्ध आएको पाइएको थियो । ढुसी परेको, कुहिएको र अस्वभाविक गन्ध आएको राजमा गेडा उपभोग गर्दा स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने हुँदा आयात गर्न उपयुक्त नदेखिएको र नष्ट गर्नुपर्ने कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार एक हजार नौ सय ५० किलो राजमा र सात सय ५० किलो मासको दाल नष्ट गरिएको हो ।
भारतको यु.पीं बहराइचस्थित मेसर्स एम. वाई ट्रेडिंग कम्पनीबाट अम्मान जेनेरल अडर्स सप्लायर्स नेपालगन्जले आयात गरेको मासको दाल र भारतकै साइ अंश ओभरसिज दिल्लीबाट मोहनयाल ट्रेड लिंक टिकापुरले आयात गरेको राजमा गेडा खानयोग्य नभएको पाइएको हो ।
यसैगरी मास दाल परीक्षणमा बाह्य रंगको प्रयोग भएको पाइएको छ । मासको दालमा बाह्य रंगको उपस्थिति रहेको पाइएकोले आयात गर्न उपयुक्त नदेखिएको र नष्ट गर्नुपर्ने कार्यालयले जनाएको छ । अम्मान सप्लायर्सले ल्याएको राजमा दाल, रोजमा गेडा, अरहर दाल, मास गेडा, मास दाल, मसुर दाल र चना गेडा परीक्षण गरिएकोमा मास दालमा कैफियत भेटिएको हो ।
मोहनयाल ट्रेडले आयात गरेको चामल, मसुर दाल र राजमा गेडा परीक्षण गरिएकोमा राजमा गेडामा कैफियत देखिएको हो । नेपालगन्ज भन्सार कार्यालयले परीक्षणका लागि खाद्य आयात निर्यात गुण प्रमाणीकरण कार्यालयमा पठाएको थियो ।
यसै आर्थिक वर्षको माघ महिनामा पनि कालो दालमा रङ मिसिएको पाइएसँगै फिर्ता वा नष्ट गर्न भनिएको थियो ।
प्लान्ट क्वारेन्टाइन तथा बिषादी व्यवस्थापन केन्द्रले पास गरेको अवस्थामा खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय नेपालगन्ज बाँकेले गुणस्तरमा कैफियत भेटिएसँगै नष्ट गर्न आदेश दिएको हो ।
यो नाकाबाट आयात हुने खाद्यान्नहरूमा बारम्बार रङ प्रयोग गरेको तथा सडे गलेको फेला पर्दै आएको छ । अन्य नाकाहरूबाट पनि यस्तै वस्तुहरू भित्रिन सक्ने भएकोले चेकजाँचमा थप कडाइ हुन आवश्यक रहेको अधिकारीहरूको भनाई छ ।