काठमाडौँ। मकवानपुरको हेटौँडामा राष्ट्रिय शैक्षिक सम्मेलन सुरु भएको छ । मकवानपुर बहुमुखी क्याम्पसको आयोजनमा ‘उच्च शिक्षाका चुनौती, दिगोपना र विद्यार्थीले बीचमै पढाई छाड्ने दर न्यूनीकरण’ विषयक दुई दिने राष्ट्रिय शैक्षिक सम्मेलन शुक्रवारदेखि सुरु भएको छ ।
सामुदायिक, आङ्गिक र निजी गरी करिब सय सामुदायिक क्याम्पसका करिब ३ सय प्राध्यापकहरू सहभागी रहेको कार्यक्रममा उच्च शिक्षाको चुनौती र दिगोपनबारे बहस हुनेछ ।
राष्ट्रिय शैक्षिक सम्मेलनको उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेल प्रदेश सरकारले व्यवहारिक र प्राविधिक शिक्षालाई जोड दिएर नीति बनाएको बताए ।
उच्च शिक्षाको हकमा प्रदेश सरकार गम्भीर रहेको बताउँदै उनले उच्च शिक्षा लिइसकेपछि बेरोजगार हुनुपर्ने हालको अवस्थालाई हटाउँदै प्रदेश सरकारले उच्च शिक्षाको क्षेत्रमा नयाँ ढंगले काम अघि बढाएको उल्लेख गरे ।
प्रदेश सरकारले बागमती प्रदेशको विश्वविद्यालय निर्माणको चरणमा काम गरिरहेको भन्दै उनले अब रोजगारमुखी शिक्षामा ध्यान दिने उनको भनाइ रहेको छ ।
कार्यक्रमका बागमती प्रदेश सरकारका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, प्रा. डा. हिरण्य रत्न बज्राचार्य, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतम लगायतले पछिल्लो समय नेपालको उच्च शिक्षाको क्षेत्रमा देखिएको समस्या, नेपाली विद्यार्थीको विदेश पलायनको समस्या र अबको रणनीतिबारे मन्तव्य व्यक्त गरेका थिए ।