काठमाडौँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले थुनामा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई भेट्न जनकपुरधाम आएका छन् ।
निधीले विमानस्थलमै पत्रकार सम्मेलन गर्दै आफू सिरोहियालाई भेट्न त्यहाँ पुगेको बताए । उनले आफू विनास्थलबाट सिधा एसपी कार्यालय पुगेर सिरोहियालाई भेट्ने जानकारी गराएका छन् ।
उनले सिरोहिया जनकपुरका ‘बोनाफाइड’ नेपाली नागरिक रहेको दाबी गरे । उनले भने, ‘सिरोहियाको घर मेरो घरकै सामुन्ने घर छ । प्रतिशोधपूर्ण तरिकाले सरकार गिरफ्तार गरेको छ । अनावश्यक दुःख दिएको छ ।’
नेता निधिले सिरोहियालाई भेटेर आफू र नेपाली काँग्रेस साथमा रहेको जानकारी गराउने बताए । कानूनी व्यवस्था र प्रक्रियाको त्रुटिले सिरोहियाको नागरिकता रेकर्ड फरक फरक भएको पनि बताए । उनले भने, ‘सिरोहियाको नागरिकता किर्ते हुँदै होइन, उहाँ अपराधी छैन ।’