काठमाडौँ। लुम्बिनी विकास कोषले २,५६८ औँ बुद्धजयन्ती एवं लुम्बिनी दिवस तीन दिनसम्म विविध कार्यक्रम सहित मनाउने भएको छ ।
कोषले मंगलबार लुम्बिनीमा पत्रकार सम्मेलन गरी बुधबारदेखि शुक्रबारसम्म लगातार कार्यक्रम गरी बुद्ध जयन्ती मनाउने जानकारी गराएको हो ।
बुद्ध जयन्ती अन्तर्गत जेठ १० गते प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ, प्रदेशका मुख्यमन्त्री लगायतको आतिथ्यतामा मूल समारोह गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
९ गते साँझ भारतीय दूतावाससँगको साझेदारीमा सांस्कृतिक कार्यक्रम, सोही साँझदेखि मायादेवी मन्दिर परिसरमा अहोरात्र महापरित्राण पाठ हुने कोषले जनाएको छ ।
मूल समारोहका दिन जेठ १० गते बिहान ६ बजेदेखि अन्तर्राष्ट्रिय भिक्षु भिक्षुणीहरुको सहभागितामा प्रार्थना सभा, बिहान साँढे ७ बजे ५ नम्बर गेटबाट शोभायात्रा हुने छ ।
लुम्बिनीमा जेठ १० गते बिहान नेपाल, भारत र श्रीलंका सम्म पुग्ने गरी त्रिदेशीय मोटरसाईकलयात्रा समेत शुभारम्भ हुने कार्यक्रम रहेको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बताए ।
यो वर्ष संघीय सरकारबाट बुद्ध जयन्तीका लागि बजेटको सुनिश्चितता नहुँदा निकै कठिनाइ भोगेको बताउँदै बुद्ध जयन्तीलाई अन्तर्राष्ट्रिय रूपमा सन्देश दिने गरी मनाउनुपर्ने बताए ।