काठमाडौँ । नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार जाँचचौकी (आईसीपी)अबको दुई हप्तामै सञ्चालन हुने भएको छ ।
भारतले आईसीपी निर्माण गरेर नेपाललाई हस्तान्तरण गरिसकेकाले अब १०-१५ दिनभित्रै भन्सार कार्यालयले आफ्नो काम आईसीपी स्थलबाट शुरु गर्ने नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले बताए । आईसीपी सञ्चालनमा आएपछि मालवाहक गाडीको जाँचपास आईसीपीबाटै गरिने उनले जानकारी दिए ।
गएको वर्ष जेठ महिनामा भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आईसीपीको भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए । उद्घाटन भएको झन्डै एक वर्षपछि भारतले नेपाल सरकारलाई नेपालगञ्ज आईसीपी हस्तान्तरण गरेको हो ।
नेपाल र आईसीपी स्थलमा भन्सार कार्यालय, पशु र प्लान्ट क्वरेण्टीन, गोदाम, खाद्य प्रविधि तथा गुण नियन्त्रण, सुरक्षा ब्यारेक, बैंक काउन्टरलगायत कार्यालय रहने गरी संरचना निर्माण गरिएको छ । आईसीपी सञ्चालन भएपछि वस्तु आयात-निर्यातमा उद्योगी व्यापारीलाई ठूलो सहायता पुग्ने नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए ।