काठमाडौँ । विश्व स्वास्थ्य दिवसका अवसरमा स्वास्थ्य सेवा विभागले सरोकारवाला पक्षलाई सहकार्य गर्न अनुरोध गरेको छ । दिवसको अवसरमा विभागले आज विज्ञप्ति जारी गरी सरोकारवालालाई सहकार्यको अनुरोध गरेको हो ।
विभागद्वारा जारी विज्ञप्तिमा स्वास्थ्य एक बहुआयामिक विकासको मुद्दा भएको र बहुपक्षीय, बहुक्षेत्रीय सहकार्यबाट मात्र स्वास्थ्यसम्बन्धी नागरिकका अधिकार सुनिश्चित गर्न सकिने जनाएको छ ।
“स्वास्थ्य क्षेत्रका सबै सरोकारवाला निकाय, अन्तर्राष्ट्रिय दातृ संस्था, गैरसरकारी सङ्घ, संस्था, निजी क्षेत्रहरू सबैले पहल लिन, पैरवी गर्न र थप सहकार्य जरुरी रहेको छ”, विज्ञप्तिमा उल्लेख गरिएको छ ।
हाल विश्वव्यापी रूपमा विभिन्न रोग, महामारीका कारण चुनौती थपिएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, “जलवायु परिवर्तन र प्रदूषण जस्ता वातावरणीय समस्याले सफा हावामा श्वासप्रश्वास लिन पाउने अधिकारबाट वञ्चित हुनुपरेको छ भने खाद्य सुरक्षा, खानेपानी, सरसफाइ र समग्र वातावरणमा प्रतिकूल असर परिरहेको छ । घरभित्र र बाहिरको प्रदूषणले प्रत्येक पाँच सेकेन्डमा एक जनाको ज्यान गइरहेको छ ।”