काठमाडौँ । कार्यवाहक महालेखापरीक्षक महेश्वर काफ्ले अनिवार्य अवकाश भएका छन् । उमेर हदका कारण कार्यवाहक महालेखापरीक्षक काफ्ले शुक्रबारदेखि अनिवार्य अवकाशमा जान लागेका हुन् ।
२०७८ कार्तिक ११ गते नायव महालेखापरीक्षक(सहसचिव) बाट उप महालेखापरीक्षक(सचिव)मा बढुवा भएका काफ्ले उमेर हदका कारण २८ महिनामै घर जान लागेका हुन् ।
गत साउन २२ गतेदेखि कार्यवाहक महालेखापरीक्षकको जिम्मेवारी सम्हालेका काफ्लेपछि महालेखापरीक्षकको कार्यालय पुनः कावाकै जिम्मामा आएको छ । तत्कालीन कार्यवाहक महालेखापरीक्षक राममाया कुँवर पाच वर्षे सेवा अवधि पुरा गर्दै अनिवार्य अवकाशमा गएसँगै काफ्ले कावा महालेखापरीक्षक भएका थिए । शुक्रबारदेखि उपमहालेखापरीक्षक बामदेव शर्माले कार्यवाहक महालेखापरीक्षकको जिम्मेवारी पाउँदै छन् ।
तत्कालीन महालेखापरीक्षक टङ्कमणि शर्मा गत जेठ आठ गते अवकाश भएसँगै महालेखापरीक्षक पद रिक्त रहँदै आएको छ । शर्मा अवकाशमा गए लगत्तै तत्कालीन उपमहालेखापरीक्षक कुँवरले गत जेठ आठ गतेदेखि गत साउन २२ गतेसम्म कावा महालेखापरीक्षकको जिम्मेवारी पाएकी थिइन । साउन २२ गते कुँवर अनिवार्य अवकाशमा गएपछि काफ्लेले कावा महालेखापरीक्षक भएका थिए ।
करिब ६ महिना काफ्लेले कावा महालेखापरीक्षक चलाएसँगै उनी पनि उमेर हदका कारण अनिवार्य अवकाशमा गएपछि शर्माले कावा महालेखापरीक्षकको जिम्मेवारी पाउने भएका छन् ।
संवैधानिक परिषद्को सचिवालयले महालेखापरीक्षकसहित विभिन्न संवैधानिक निकायका विभिन्न पदका लागि आवेदन आह्वान गरे पनि अझै नियुक्त हुन सकेको छैन । जसमा महालेखा परीक्षकका लागि कार्यवाहक महालेखापरीक्षक, पूर्व कार्यवाहक महालेखापरीक्षक, पूर्वअर्थसचिवसहित १५ जनाले आवेदन दिएका थिए।
निकै महत्त्वपूर्ण निकायका रूपमा लिइने महालेखापरीक्षकको कार्यालय महिनौँसम्म नेतृत्वविहीन हुनु र सरकारले तदारुकता नदेखाउनु आफैमा लज्जास्पद छ । जे कुरामा पनि भागबण्डा लगाउँदा अधिकांश नियुक्तिहरू प्रभावित हुँदै आएका छन् । जसको प्रभाव राष्ट्रिय मात्रै होइन, कतिपय अवस्थामा अन्तराष्ट्रियस्तरसम्म पनि पर्ने गरेको छ । यति धेरै महत्वको निकायलाई आफ्ना र आफन्तको आँकलन गर्नुभन्दा विज्ञताका हिसाबले तत्काल नियुक्त गर्नुपर्छ ।