काठमाडौँ। नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले नेपालमा रहेका मेडिकल कलेजहरू बन्द हुने अवस्थामा पुग्न लागेको बताएका छन् ।
सरकारको स्पष्ट नीति नहुँदा देशभरका मेडिकल कलेज बन्द हुने अवस्थामा पुग्न लागेको उनको भनाइ छ । उनले वार्षिक रूपमा ३० हजार बढी विद्यार्थीहरू डाक्टर पढ्नका लागि विदेश जाने गरेको बताए । दाङको तुलसीपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताए ।
‘सबै कलेजको शेयर विक्री भई सकेको छ, सञ्चालकहरूले पनि ९० प्रतिशत कलेज किनवेच गरी सकेका छन् जिम्मेवार पदमा बसेका नेताको व्यक्ति गत स्वार्थ निहितका कारण शिक्षा र स्वास्थ्य क्षेत्र तहस नहस भएको छ’, उनले भने ।
यस्तै, उनले दाङको चारलेन सडकको अवस्था नाजुक बन्दासमेत यहाँका नेताहरू चुप लागेर बस्नु लाजमर्दो कुरा भएको तर्क गरे । उनले पहुँचको भरमा भन्दा पनि आवश्यकताको सिद्धान्तको हिसाबले बजेट बाडँफाट गर्न सुझाव दिए ।
सत्तामा रहेका नेताहरुले आफ्नो क्षेत्रमा मात्र बजेट विनियोजन गर्ने गरेको प्रति आपत्ति जनाउँदै अव दुरदराजका जनताले बाच्ँन पाउँने अधिकार पाउनु पर्छ भन्ने अभियानमा आफू लागेको भन्दै यस अभियानमा सबैको सहयोग आवश्यक रहेको बताए ।