काठमाडौँ । बैतडीको पाटन नगरपालिका वडा नम्बर ८ ले पार्श्व चित्र सार्वजनिक गरेको छ । वडाका समस्या पहिचान गरी विकासको मार्ग चित्र बन्ने विश्वासका साथ समग्र गतिविधि समेटेर शुक्रबार पार्श्व चित्र सार्वजनिक गरिएको हो ।
गत आर्थिक वर्षको वार्षिक समीक्षासहित वडा कार्यालयले आर्थिक वर्ष २०७९/०८० मा गरेका कार्यक्रमहरू पार्श्व चित्रमा समेटिएका छन् ।
पार्श्वचित्रले वडाभित्र रहेका समस्याहरू पहिचान गरी विकाश निर्माण र दीर्घकालीन रूपमा योजना अघि बढाउन सहयोग पुग्ने वडाध्यक्ष हरिस विष्टले बताए ।
विगतमा भएका कमीकमजोरी सुधार गरी प्राथमिकताका आधारमा भावी योजना छनौट र कार्यान्वयन गर्न पनि पार्श्वचित्रले माग निर्देश गर्ने अध्यक्ष विष्टको विश्वास छ ।
वडा नम्बर ८ ले गत वर्ष ४ लाख ५० हजार ९४३ रुपैयाँ राजस्व सङ्कलन गर्न सफल भएको छ । यसैगरी आजै नगरपालिकाको कार्यविधि अनुसार ११ ओटा टोल विकास गठन गरी उनीहरूलाई सूचीकृत गरेर प्रमाणपत्र समेत वितरण गरेको छ ।
टोल विकास संस्थाले सामाजिक धार्मिक सांस्कृतिक भौतिक पूर्वाधार निर्माण तथा सुशासन कायम गर्ने क्षेत्रमा काम गर्ने छन् । २५ घरधुरी माथि र एक सय घरधुरी मुनि रहेर टोल विकास संस्था गठन गरिएको वडाध्यक्ष विष्टले जानकारी दिएका छन् ।
कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, टोल विकासका संस्थाका पदाधिकारी, महिला सञ्जाल, युवा सञ्जाल, राजनीतिक दलका प्रतिनिधिको सहभागितामा गत वर्ष वडा भित्र सञ्चालन भएका योजनाहरूको समीक्षा पनि गरिएको छ ।

कार्यक्रममा सहभागीहरूले वडाभित्र सञ्चालन हुने कार्यक्रम तथा योजनाहरूको काम दिगो र पारदर्शी हुनुपर्नेमा जोड दिएका थिए । यसका साथै योजनाहरू काम अनुगमनमा पनि सबैले जबाफदेही हुनुपर्ने सहभागीहरूको जोड छ ।
वडाको समग्र विकाश, पारदर्शीता, जबाफदेहिता र सुशासन कायम गर्न निरन्तर लागिरहने वडाध्यक्ष विष्टको प्रतिबद्धता छ ।