रौतहट । विद्युत् महशुल नतिरेका कारण कटहरियामा रहेका दुई वटा कार्यालयको लाइन काटिएको छ । बिजुली नहुँदा सेवा प्रवाह प्रभावित बनेको छ ।
लामो समयदेखि विद्युत् महशुल नबुझाएपछि कटहरिया नगरपालिकाको कार्यालय र खानेपानी उपभोक्ता समितिको विद्युत् लाइन काटिएको हो । नगरपालिकाले करिब ४ लाख र खानेपानी उपभोक्ता समितिले १६ लाख रुपैयाँ विद्युत् महशुल बुझाउन बाँकी रहेको नेपाल विद्युत् प्राधिकरण मौलापुरले जनाएको छ ।
कार्यालयका प्रमुख दिनेश यादवका अनुसार विद्युतको बक्यौता रकम नतिरेका ग्राहकहरूको विद्युत् लाइन काटिएको छ । पटक पटक महशुल बुझाउन आग्रह गर्दा समेत बेवास्ता गरेपछि लाइन काट्न थालेको उनले जानकारी दिए ।
बक्यौता रकम नबुझाएकाले दुई कार्यालयका मिटर खोलेर प्राधिकरणको कार्यालयमा ल्याइएको उनले बताए । विद्युत् आपूर्ति नहुँदा नगरको कार्यालयको सम्पूर्ण काम ठप्प भएको कटहरिया नगरपालिका वडा नं. ५ का अध्यक्ष सर्फलाल गुप्ताले बताए ।
तीन दिनदेखि विद्युत् आपूर्ति नहुँदा नगरपालिकाको सम्पूर्ण काम प्रभावित भएको उनले बताए । कार्यालयमा विद्युत् आपूर्ति नहुँदा काम विशेषले पुगेका सेवाग्राहीहरू फर्किन बाध्य भएका छन् । कटहरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिशंकर कुमार सिंहले विद्युत् प्राधिकरण मौलापुरको नाममा तीन लाखको चेक काटिसकेकाले अब विद्युत् आपूर्ति हुने जानकारी दिए ।
विद्युत् महशुल नबुझाएका कारण समस्या आएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र साहले बताए । खानेपानीको विद्युत् महशुलमा नगरपालिकाले चासो दिनुपर्ने उनको भनाई छ । खानेपानीको विद्युत् आपूर्ति नहुँदा अहिले कटहरिया नगरपालिका ४ र ५ वडाका १६ सय सेवाग्राही खानेपानीबाट वञ्चित भएका छन् ।