काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले लेनिनवादको महत्वबारे व्याख्या गरेका छन् ।
लामो समयदेखि सार्वजनिक कार्यक्रममा विरलै देखिने र सुनिने गरेका नेता थापाले सोमबार पोखरामा प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै महत्वबारे व्याख्या गरेका हुन् ।
पार्टीको गण्डकी प्रदेशका नवनिर्वाचित पदाधिकारी र सदस्यहरूको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष बादलले लेनिनवादको प्रयोग एमालेले समाजवाद निर्माणका लागि गर्ने बताए ।
पुरानै माओवादी कालीन शैलीमा प्रशिक्षणमूलक भाषण गरेका बादलले एमालेको नेतृत्वमा जनवादी क्रान्ति सम्पन्न भएकाले अब एमालेकै नेतृत्वमा समाजवादी क्रान्ति सम्पन्न गरिने बताए ।
उनले भने, ‘नेकपा एमालेले समाज सुहाउँदो कार्यक्रम लिएर जनवादी आन्दोलनको, जनवादी क्रान्तिको नेतृत्व गर्यो । श्रमजीवी जनताको नेतृत्वमा जनवादी क्रान्ति सम्पन्न गर्यो । अब हामी समाजवादी क्रान्तिको फेजमा प्रवेश गरेका छौँ । यो भनेको लेनिनवादी समाजवादी क्रान्तिको मोडलमा जाने कुरा हो । हामीले लेनिनवाद मान्ने भनेको समाजवादी क्रान्ति सम्पन्न गर्ने हो ।’
बादलले एमालेको दशैं महाधिवेशनले समाजवादी क्रान्तिको मोडल र कार्यक्रम तय गरेको भन्दै सोहीअनुसार पार्टी पङ्क्ति अघि बढ्नुपर्ने बताए ।
उनले समाजवादी क्रान्तिका लागि कृषिमा आत्मनिर्भर बन्नुपर्नेमा जोड दिए ।
उनले ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा एमालेले अघि सारेको भन्दै समाजवादी क्रान्ति सम्पन्न भएसँगै समृद्ध नेपाल बन्ने दाबी गरेका छन् ।
अर्को प्रसङ्गमा बादलले ‘प्रचण्ड’, माधव र वामदेवहरूमा राजनीतिक रूपमा दक्षिणपन्थी प्रवृत्ति र साङ्गठनिक रूपमा अराजकतावाद देखापरेपछि उनीहरूलाई परास्त गर्न तत्कालीन अवस्थामा संसद विघटन गरिएको जिकिर गरेका छन् ।