काठमाडौँ । ठमेल घुम्न आउने पर्यटकको सहजताका लागि ठमेल पर्यटन विकास परिषद्ले ठमेल क्षेत्रका स्ट्रिट (गल्ली)मा नम्बर राख्ने छ ।
यसले पर्यटकलाई ठाउँ पत्ता लगाउन अब सहज हुने छ ।
परिषद्का अनुसार आगामी शुक्रबार सम्पन्न कार्यसमिति बैठकमा स्ट्रिट नम्बर राख्ने विषयमा छलफल र निर्णय हुनेछ । त्यसपछि ठमेल क्षेत्र पर्ने महानगरका चार वडामध्ये २६ नम्बर वडासँग छलफल गरेर निष्कर्षमा पुगिनेछ
वडाले पनि चित्तबुझ्दो जवाफ नदिए चन्दा उठाएर भए पनि स्ट्रिट नम्बर राखिने जनाइएको छ । स्ट्रिट नम्बर राख्नका लागि यसअघि चार पटक बोर्डले बजेट छुट्याए पनि कार्यान्वयन भने हुन सकेको छैन । ठमेल क्षेत्र महानगरको वडा १६, १७ २६ र २७ वडाभित्र पर्छ । पछिल्लो समय २६ वडाले नम्बर राख्नका लागि चासो देखाएको छ ।
स्ट्रिट नम्बरले पर्यटकलाई होटेल, रेस्टुरेन्ट, अफिस वा अन्य कुनै गन्तव्यमा सहजै पुग्ने गरी पहिचान दिन्छ । यसका लागि ठमेलका प्रत्येक गल्लीको पहिचान हुने गरी फरक-फरक नम्बर वा नाम दिइन्छ । कर्मचारी सञ्चय कोष रहेको भवनबाट स्ट्रिट नम्बर प्लेट राख्ने तयारी छ ।