काठमाडौँ । कपनको सरस्वती नगरमा ७ वैशाखमा आफ्नै भाँडा पसलभित्र भएको निरा पाण्डेको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका विनोद विश्वकर्मालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत, काठमाडौँले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि केन्द्रीय कारागार, सुन्धारा चलान गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विश्वकर्मालाई १६ वैशाखमा झापाबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो ।
विश्वकर्माले आर्थिक रूपमा समस्यामा परेपछि पाण्डेको सिक्री र काउन्टरमा भएको रकम लुट्न खोज्दा प्रतिकार गरेपछि हत्या गर्नुपरेको बयान दिएको प्रहरीको भनाइ छ ।
प्रहरीले सुरुवातमा यसमा अन्य व्यक्तिहरूको पनि संलग्नता हुनसक्ने आशङ्कामा अनुसन्धान गरे पनि अरु व्यक्तिहरूको संलग्नता नखुलेको प्रहरीको भनाई छ ।