काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणसहित भ्रष्टाचारका काण्डमा अब सबैले प्रस्ट हुनुपर्ने बताएका छन् ।
मङ्गलवार विज्ञप्ति जारी गरी सबैले भ्रष्टाचारीको पक्षमा वा भ्रष्टाचारविरुद्धको अभियानमा कता उभिने भनेर निर्णय गर्ने समय आएको बताए ।
“पछिल्ला दिनमा नागरिक तहमा प्रतिरोध प्रारम्भ भएको छ, जुन जायज र स्वभाविक छ । यसकाविरुद्ध भइरहेका तमाम नागरिक आन्दोलन र अभियानप्रति ऐक्यबद्धता प्रकट गर्दछु,” थापाले भनेका छन्, “अब कुनै पनि व्यक्ति, समूह वा राजनीतिक दल कि यो प्रतिरोधमा नागरिकका साथ उभिनुपर्छ कि भ्रष्टहरूको समर्थनमा, बिचको बाटो कसैसँग पनि छैन ।” महामन्त्री थापाले आफूले सार्वजनिक सञचारमाध्यमसहित संसद्मा गराइसकेको विषयमा पुनः ध्यानाकर्षण गराउने भन्दै चारबुँदे धारणा समेत सार्वजनिक गरेका छन् ।

