काठमाडौँ । नेकपा एमालेका नेता देवेन्द्र दाहालले भ्रष्टाचार न्यूनीकरणका लागि के–के गर्ने हो त्यसबारे सरकारको प्रतिबद्धता माग गरेका छन् ।
राष्ट्रिय सभामा जारी प्रि–बजेट छलफलमा भाग लिँदै उनले भ्रष्टाचार कसरी हुन्छ भन्ने थाहा पाएर त्यस अनुसार अगाडि जानुपर्नेमा जोड दिएका छन् ।
उनले भने, ‘कर्मचारी र ठेकेदारको मिलेमतोमा भ्रष्टाचार हुँदा रहेछ । यसमा नेताहरू पनि मुछिन्छन् होला ।’
हस्ताक्षर गर्दा कर्मचारीले ‘साइनिङ मनि’ लिने प्रवृत्ति रहेको उनको टिप्पणी छ । ‘कर्मचारीले सचिवले साइनिङ मनि लिने, दुई प्रतिशत, तीन प्रतिशत कति हुन्छ त्यो गोजीमा हालिहाल्ने । ठेकेदारले मोबिलाइजेनशको रकम लिने । त्यो रकम अरु नै काममा लगाउने । यो भएपछि आयोजना लथालिङ्ग हुन्छ । अगाडि बढ्दैन । वर्षौँदेखि यो क्रम बढिरहेको छ,’ उनले भने ।
विभिन्न माध्यमबाट भ्रष्टाचारको पुलिन्दा थपिँदै गइरहेको बताउँदै सरकारलाई भ्रष्टाचार न्यूनीकरणमा प्रस्ट हुन र बजेटले दलाल पुँजीपतिलाई हेर्छ कि गरिबलाई हेर्छ भनेर प्रस्ट हुनुपर्ने उनले बताएका छन् ।