काठमाडौँ । सोमबार पोखरामा मृत भेटिएका परराष्ट्र मन्त्रालयका नायब सुब्बा ३१ वर्षीय अनुप भण्डारीको ‘सुसाईड नोट’ भेटिएको छ ।
आइतबार दिउँसो २ बजे आफ्नो परिवारलाई पोखरा पुगेको सन्देश पठाएको अनुपले ‘सुसाइड नोट’ लेखेको भेटिएको छ । प्रहरीका अनुसार भण्डारी आइतबार दिउँसो १ बजे काठमाडौँबाट जहाज चढेर पोखरा गएका थिए ।
भण्डारी परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागमा कार्यरत थिए ।
उदयपुर घर भएका भण्डारी आफैँ तालमा फाल हानेको प्रहरीको अनुमान छ । सुसाइड नोटमा आफूले संसार सबै देखेको र अब हेर्न र देख्न बाँकी नरहेकाले आफूले देह त्याग गरेको उल्लेख रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी श्रवणकुमार विकले प्रशासनलाई बताए ।
उनले भने, ‘सुसाइड नोट हेर्दा इच्छाले मरेको देखिन्छ, संसार सबै देखिसके देख्न बाँकी केही छैन लगायतका कुराहरू लेखिएको छ, बाकी त अनुसन्धान हुदैछ ।’ उनले थपे, ‘बाँकी त बिस्तारै खुल्दै जान्छ, हामी अनुसन्धानकै प्रक्रियामा छौँ ।’
भण्डारीको शव तालको छेउको पानीमा घोप्टो परेको अवस्थामा आज बिहान ८ बजे भेटिएको थियो ।