प्रमाणपत्र दिने गृहबाटै ठगी धन्दा हुनु लाजमर्दो, स्वार्थपूर्तिका सचिवले दुर्घटना ! « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रमाणपत्र दिने गृहबाटै ठगी धन्दा हुनु लाजमर्दो, स्वार्थपूर्तिका सचिवले दुर्घटना !


२१ बैशाख २०८०, बिहिबार


काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा बहालवाला सचिव नै पक्राउ परेको घटना यति बेला चर्चाको विषय बनेको छ । ‘लहरो तान्दा पहरो गर्जिन्छ’ भने झैँ उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे बुधबार पक्राउ परेसँगै नेपाली राजनीति र कर्मचारी वृत्तमा चर्चा सुरु भएको हो ।

जानकारहरूका अनुसार ठगी धन्दामा गृह सचिव भइसकेको व्यक्ति र बहालवाला सचिव पक्राउ परेको यो सम्भवतः पहिलो घटना हो । गृह सचिव भएको र बहालवाला सचिव पक्राउ परेको घटना यसअघि आफ्नो जानकारीमा नरहेको पूर्वमुख्य सचिव विमल कोइरालाले बताए । पाण्डे २०७८ श्रावण २७ देखि २०७९ असोज २ सम्म गृह सचिव थिए ।

गृह मन्त्रालय व्यक्तिलाई परिचय दिने मन्त्रालय हो । नागरिकलाई परिचयको प्रमाणपत्र दिने मन्त्रालयकै जिम्मेवार पदमा रहेको व्यक्तिले नक्कली काम गर्छ भने यो भन्दो ठूलो अपराध के हुन सक्छ ? अहिले धेरैको प्रश्न यही छ । ‘शान्ति सुरक्षा र अपराध अनुसन्धानको जिम्मा लिएको अधिकारीले नै गैर कानुनी काम गर्छ भने यो भन्दा लाजमर्दो के हुन्छ ?’ पूर्व प्रहरी नायब महानिरीक्षक हेमन्त मल्लले भने, ‘गृह मन्त्रालयका जिम्मेवार पदाधिकारीबाट नै ठगी धन्दा हुनु भनेको लाजमर्दो  र घिन लाग्दो कुरा हो ।’

पछिल्लो समय सचिवहरूको सरुवामा राजनीति हाबी हुने गरेको छ । पाण्डेलाई पनि निहित स्वार्थका लागि गृह तानिएको चर्चा चलेको थियो । काँग्रेस नेता बालकृष्ण खाँण गृहमन्त्री भएका बेला पाण्डेलाई गृह सचिव बनाइएको थियो । गृह प्रशासनमा कुनै अनुभव नभएका व्यक्तिलाई सचिव बनाइएको भन्दै त्यो बेला आलोचना भएको थियो । 

पूर्वमुख्य सचिव कोइरालाले भने, ‘मैले २० वर्षअघि नै भनेको थिए । प्रमुख जिल्ला अधिकारी नभएको व्यक्ति गृह सचिव हुनु हुँदैन । जिल्लामा कार्यालय प्रमुख नभएको व्यक्ति सचिव हुनु हुँदैन । यो अहिले पनि सान्दर्भिक हुन्छ जस्तो लाग्छ ।’ 

कार्य अनुभव मात्रै समस्या होइन पछिल्लो समय प्रशासकमा राजनीतिक मोह पनि बढेको छ । शुद्ध प्रशासन र विशुद्ध राजनीतिको अभाव छ । अहिले स्वार्थपूर्ति गर्न मन्त्रालयमा सचिवहरू बोकेर लैजाने गरिन्छ । कसको स्वार्थमा सचिव बोकेर लगिन्छ यसबारे पनि अनुसन्धान गर्नुपर्ने पूर्व प्रहरी नायब महानिरीक्षक मल्लले बताए । मल्लले भने जस्तै पाण्डेलाई गृहमा ल्याइनुको पछाडिको मुख्य कारण थियो ‘हस् बहादुर’ । राजनीतिक नेतृत्वले जे भन्छ, कुनै विमती नराखी अगाडी बढाउनु नै ‘हस् बहादुर’ को खाँसियत रहने गर्छ । पाण्डेले त्यही गरे । यतिसम्मकी मन्त्रीका आसेपासेहरूको गतिविधिहरूमा मूकदर्शक बनेर मात्रै बसेनन् कि सघाइसमेत रहे ।  

पाण्डे गृहबाट सरुवा भएपछि पनि रमाना नै लिन मानेका थिएनन् । उनको नाइनास्तीका कारण केही दिन नयाँ सचिवलाई हाजिर गर्न केही विलम्ब मात्रै भएन कि मन्त्री खाँणले पाण्डेलाई थमौती गर्न भएभरको बल लगाए र केही जोड नचलेपछि सरुवा भई सकेका पाण्डेलाई सरकारी कार्यक्रममा विदेश पठाएर पनि यहाँ चलखेल गर्न खोजे तर त्यो पनि सम्भव नभएपछि अन्ततः उनी उपराष्ट्रपति कार्यालयका लागि रवाना बुझे । यद्यपि त्यही बिचमा उनी बिरामी भएको र उपचारसमेत गराउन परेकाले विलम्ब हुन गएको बताएका थिए । 

सम्बन्धित समाचार : गृह सचिवबाट सरुवा भएका पाण्डेले महिनौँ हुन लाग्दा पनि बुझेनन् रमाना 

आकर्षक कार्यालयमा जान दौडधुप गर्नु तथा सरुवा पत्र बुझ्नु अघिसम्म थमौतीका लागि प्रयास गर्नुसम्म पनि नौलो नमानिएला तर सरुवा भएको व्यक्ति रमाना लिएर भइसक्दासमेत गरेको अटेरीलाई कर्मचारी वृत्तमा निकै धेरै आलोचनासमेत भएको थियो ।  उनले गरेका कतिपय प्रशासनिक निर्णयहरुसमेत आलोचित हुन पुगेका थिए ।

पूर्व प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार भ्रष्टाचार र आर्थिक अपराधका घटनाले समाज आक्रान्त छ । यसलाई समयमा उचित ढङ्गले सम्बोधन गर्न सकिएन भने विशृङ्खलताको पोको बनेको बारुद कति बेला कसरी विस्फोट हुन्छ भन्न नसकिने उनले बताए । 

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा सचिव मात्रै होइन, राजनीतिज्ञको पनि संलग्नता देखिएको छ । पूर्व मन्त्रीसमेत रहेका एमाले सचिव टोपबहादुर रायमाझीलाई पनि पक्राउ पुर्जी जारी भएको छ । ‘भुटानी शरणार्थी प्रकरण मन्त्रीमा टुङ्गिन्छ कि माथि पनि जान्छ,’ रेग्मीले भने, ‘प्रधानमन्त्री र गृहमन्त्रीले जस लिन खोजे यो केश बिग्रन्छ । प्रहरीलाई अनुसन्धानमा खुला छोड्नु पर्छ ।’

यस्तो छ पाण्डेको सेवा यात्रा

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको आरोपमा बुधबार पक्राउ परेका सचिव टेकनारायण पाण्डे २०५१ सालमा सरकारी सेवामा प्रवेश गरेका थिए । विद्यालय निरीक्षकबाट सरकारी सेवामा प्रवेश गरेका पाण्डे शाखा अधिकृत हुँदै २०६५ सालमा उपसचिव, २०६७ सालमा सहसचिव र २०७६ सालमा सचिव बने ।

पाण्डेले २०५१ सालमा विद्यालय निरीक्षकको रूपमा निजामती सेवामा प्रवेश गरेका हुन् । उनले शाखा अधिकृत, कार्यक्रम संयोजक, योजना अधिकृतका रूपमा प्युठान, गुल्मी, पाल्पालगायतका जिल्लामा काम गरेका छन् । यसैगरी जिल्ला शिक्षा अधिकारीको रूपमा २०६१ देखि २०६५ सम्म जिल्ला शिक्षा कार्यालय दाङ र जुम्लामा सेवा गरे ।

पाण्डे २०६५ सालमा उपसचिव बनेका थिए । उपसचिवको रूपमा २०६५ देखि प्रशासन पुनर्संरचना आयोग, शिक्षा विभाग र पाठ्यक्रम विकास केन्द्रमा सेवा गरेका थिए । उनी २०६७ सालमा सहसचिव बने । २०६७ फाल्गुनदेखि सहसचिव÷निर्देशकको रूपमा शैक्षिक जनशक्ति विकास केन्द्र र शिक्षा विभागमा काम गरेका छन् ।

पाण्डेले व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाको परियोजना निर्देशक, शैक्षिक जनशक्ति विकास केन्द्रको महानिर्देशक, शिक्षा विकास तथा मानव श्रोत विकास केन्द्रको उपमहानिर्देशक र शैक्षिक गुणस्तर परीक्षण केन्द्रको महानिर्देशकको रूपमा पनि कार्य गरेका थिए ।

२०७६ सालमा उनी नेपाल सरकारको सचिव बनेका हुन् । २०७६ भाद्रमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनीमा प्रदेश सचिव र २०७६ फागुनमा कर्णाली प्रदेश सरकारको प्रमुख सचिव बनेका थिए । यसैगरी २०७७ श्रावणमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिव बनेका पाण्डे २०७८ श्रावण २७ देखि २०७९ असोज २ सम्म गृह सचिवका रूपमा कार्यरत रहे । 

पक्राउ पर्दाका बखत उनी उपराष्ट्रपतिको कार्यालयको सचिव थिए । प्रशासन विशेष स्रोतका अनुसार बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले पाण्डेलाई अतिरिक्तमा तानेको छ ।

सम्बन्धित समाचार : एमाले सचिव रायमाझीका छोरा सन्दीपलाई काठमाडौँ ल्याइँदै

सम्बन्धित समाचार : एमाले सचिव रायमाझीका छोरा पक्राउ

सम्बन्धित समाचार : मलाई लगाइएको आरोप झुटो हो, प्रहरीले राम्ररी छानबिन गरोस् : टोपबहादुर रायमाझी

सम्बन्धित समाचार : दोषी देखिए कोही पनि छुट्दैनन् : गृहमन्त्री श्रेष्ठ

सम्बन्धित समाचार : पूर्वगृहमन्त्री थापाका छोराविरूद्ध पनि पक्राउ पुर्जी जारी 

सम्बन्धित समाचार : तत्कालीन ऊर्जा मन्त्री टोपबहादुर र छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी 

सम्बन्धित समाचार : सचिव पाण्डेलाई ३ दिन हिरासतमा राख्न अनुमति

सम्बन्धित समाचार : सचिव पाण्डे पक्राउ 

सम्बन्धित समाचार : नक्कली भुटानी शरणार्थी प्रकरण : तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राई पक्राउ

सम्बन्धित समाचार : नक्कली शरणार्थी बनाउने गिरोहविरुद्धको अनुसन्धानमा किन चुहाइयो सूचना ?

सम्बन्धित समाचार : भुटानी शरणार्थी प्रकरण : पाँच करोड १९ लाख ठगिएको भन्दै १० जना प्रहरीको सम्पर्कमा

सम्बन्धित समाचार : नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका थप एक जना पक्राउ

सम्बन्धित समाचार : नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने ठगी धन्दामा सचिवको संलग्नताबारे अनुसन्धान हुँदै

सम्बन्धित समाचार : भुटानी शरणार्थीको अवस्थाबारे गम्भीर हुन गृहमन्त्रीलाई ध्यानाकर्षण

सम्बन्धित समाचार : नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने गिरोह अझै सक्रिय, प्रलोभनमा नपर्न प्रशासनको आग्रह

Tags :
प्रतिक्रिया दिनुहोस