काठमाडौँ । सरकारले मिटरब्याजी समस्याका विषयमा छानबिनका लागि समिति गठन गरेको छ।
सिंहदरवारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजी समस्याका विषयमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
पूर्व न्यायाधीश गौरी बहादुर कार्कीको संयोजकत्वमा गठित समितिमा पूर्व एआइजी उत्तमराज सुवेदी र गणेशबाबु अर्याल रहेका छन्।
समितिलाई तीन महिनाको अवधि दिइएको र ठोस र मूर्त रूपमा मिटरब्याजीको समाधानका लागि तत्काल एक्सनमा जाने गरी प्रतिवेदन पेस गर्न भनिएको प्रवक्ता शर्माले बताइन्। समितिको मुख्यालय जनकपुरमा राख्ने निर्णय भएको उनले जानकारी दिइन्।
त्यस्तै बैठकले गृह मन्त्रालयको मातहतमा जासुसी परिचालन गर्ने कार्यविधि खारेज गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताए।