काठमाडौँ । कर्णाली प्रदेश सभाको बैठक आज बस्दै छ।
दिउँसो ३ बजे बस्ने बैठकमा पेस हुने एजेन्डाहरु अधिवेशन सुरु हुनुभन्दा १ घण्टाअघि दलहरूको सर्वदलीय बैठकले तय गर्ने भएको छ।
तर, प्रदेशसभा सञ्चालनका लागि कार्य व्यवस्था परामर्श समिति तथा विषयगत समिति भने गठन हुन सकेको छैन।
कर्णाली प्रदेश सभा दोस्रो कार्यकालको पहिलो अधिवेशनअन्तर्गत ६ वटा बैठक सम्पन्न भइसकेका छन्। ती बैठकबाट सभामुख, उपसभामुख चयन तथा मुख्यमन्त्रीले विश्वासको मत लिने काम सम्पन्न भएको छ।
सातौँ बैठक आइतबार बोलाइएको हो। शून्य समय र विशेष समय भएकाले बैठकमा दलहरूले समसामयिक विषयमा आफ्ना धारण राख्ने छन्। तर सभा सञ्चालनमा महत्त्वपूर्ण मानिएको कार्य व्यवस्था परामर्श समिति र विभिन्न विषयगत समितिहरू गठन हुन सकेका छैनन्।
प्रदेश सभा नियमावलीमा प्रदेश सभाको पहिलो बैठक बसेको तीन महिनाभित्र विषयगत समितिहरू गठन गरिसक्नुपर्ने प्रावधान छ।