काठमाडौँ । न्युयोर्कमा सिग्नेचर बैंक बन्द भएको छ।
बैंकिङ सङ्कट रोक्न भन्दै नियामक निकायहरूले सो बैंक बन्द गरेका हुन्। सिग्नेचर बैंक क्रिप्टो उद्योगको ठुलो ऋणदाताका रूपमा समेत परिचित छ।
ट्रेजरी, फेडेरल रिजर्भ बैंक र द फेडेरल डिपोजिट इन्स्योरेन्स कर्पोरेसन (एफडीआईसी)ले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा सिग्नेचरलाई नियन्त्रणमा लिइएसँगै यसले थप प्रणालीगत जोखिम निम्त्याउन भूमिका नखेल्ने उल्लेख गरेको छ।
सिग्नेचरलाई इन्स्योरेन्स कर्पोरेसनले नियन्त्रणमा लिएको हो। कुल सम्पत्ति १ खर्ब ११ अर्ब डलर रहेको बैंकमा ८९ अर्ब डलर निक्षेप छ। अमेरिकी वित्तीय इतिहासमा यो तेस्रो ठुलो क्षति हो। सिग्नेचर बैंकका निक्षेपकर्ताले आफ्नो निक्षेपमा पूर्ण पहुँच पाउनेछन्। सिलिकन भ्याली बैंकमा पनि नियामक निकायले यस्तै कदम चालेका थिए।
प्रविधिमा लगानी केन्द्रित गरेको बैङ्कलाई निक्षेपकर्ताको रकम फिर्ता दिन निकै कठिन भएको थियो। सोही दिनमै बैंक सरकारी नियन्त्रणमा आएको हो।
सिलिकन भ्याली बैंक बन्द भएको दुई दिनपछि अर्को अमेरिकी बैंक पनि बन्द भएको हो।