जसपाबाट नै उपराष्ट्रपतिको उम्मेदवार बनाउने सत्ता गठबन्धनको तयारी  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

जसपाबाट नै उपराष्ट्रपतिको उम्मेदवार बनाउने सत्ता गठबन्धनको तयारी 


२६ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । सत्तारुढ आठ दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठकबाट उपराष्ट्रपतिको उम्मेदवार टुङ्गो लगाइने भएको छ । दोस्रो तहका नेताहरू सम्मिलित संयन्त्रको शुक्रबार बसेको बैठकले शीर्ष नेताहरूबाटै उपराष्ट्रपतिबारे औपचारिक निर्णय गर्ने सहमति गरेको हो । 

उपराष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्नकै निम्ति काँग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा रहेको संयन्त्रको बैठक शुक्रबार बसेको थियो । तर शीर्ष नेताहरू सम्मिलित बैठकले निर्णय गर्ने सहमति जुटेपछि दोस्रो तहका नेताहरूको बैठक भने राष्ट्रपतिमा रामचन्द्र पौडेललाई जिताउन मतदान गर्नेहरूलाई धन्यवाद दिएर बैठक सकिएको छ । 

शुक्रबार जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले उपराष्ट्रपतिको उम्मेदवारबारे अलग-अलग निर्णय लिएका थिए ।

सम्बन्धित समाचार : ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने जनमतको निर्णय 

जनमत पार्टीले ममता झा र नाउपाले अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । यद्यपि ४५ वर्ष उमेर पुगेको हुनुपर्ने संवैधानिक प्रावधानका कारण अध्यक्ष श्रेष्ठ उपराष्ट्रपतिको उम्मेदवार बन्न पाउने छैनन् ।

सम्बन्धित समाचार : रञ्जिता श्रेष्ठ उपराष्ट्रपतिको उम्मेदवार बन्न नपाउने

जनमत र नाउपाले भन्दा पहिले नै जनता समाजवादी पार्टी (जसपा) ले रामसहाय प्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बिहीबार बसेको कार्यकार्यकारिणी समितिको बैठकले संसदीय दलका नेता यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । 

सम्बन्धित समाचार : जसपाले रामसहायलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने 

नेताहरूका अनुसार चार दलबीच जसपालाई उपराष्ट्रपति दिने सहमति भने १२ फागुनमै जुटेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले उपराष्ट्रपति पाउनुपर्ने अडान छाडेपछि जसपाले उक्त पद पाएको थियो । त्यही सहमति अनुसार, जसपा आठ दलीय गठबन्धनमा सहभागी भयो भने राष्ट्रपतिमा काँग्रेस नेता पौडेल निर्वाचित भइसकेका छन् । सहमति अनुसार उपराष्ट्रपति पद जसपाले पाउनेमा कुनै समस्या नरहेको गठबन्धनका नेताहरू बताउँछन् ।

तर ठूला दलहरुबीच जुटेको सहमतिलाई आठ दलीय गठबन्धनले औपचारिकता दिन बाँकी रहँदै जसपाले निर्णय गरेकाले जनमत र नाउपाको पनि दाबी देखिएको उनीहरूको भनाई छ ।  

राष्ट्रपतिको चुनाव नसकिँदै जसपाले उपराष्ट्रपति पदमा उम्मेदवार चयन गरेपछि अर्को समस्या पनि सतहमा आएको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति खस–आर्य समूहका पुरुष निर्वाचित भएकाले उपराष्ट्रपतिमा महिला आउनुपर्ने अभिव्यक्ति दिएका छन् ।

सम्बन्धित समाचार :  उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदायको उम्मेदवारी मात्र दर्ता गर्न निर्देशन

यस अभिव्यक्ति पछि नेतारुले असन्तुष्ट जनाएका छन् । 

सम्बन्धित समाचार : ‘उपराष्ट्रपतिबारे आयोग र प्रमुख आयुक्तको अभिव्यक्ति मिलेन’

आगामी चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि फागुन २७ गते शनिबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।

सम्बन्धित समाचार : उपराष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक

Tags :
प्रतिक्रिया दिनुहोस