काठमाडौँ । चालक अनुमति पत्रका लागि लिइने प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० प्रतिशत ल्याउँदा पास हुने व्यवस्था लागु भएसँगै चालक अनुमतिपत्र पास हुनेको संख्या १० देखि २० प्रतिशतसम्म बढेको छ ।
वाग्मती प्रदेश सरकारले गरेको निर्णयका आधारमा काठमाडौँ उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले यो महिनाको सुरुदेखि नै ७० प्रतिशत ल्याउँदा पास हुने नियम लागु गराएका हुन् । नियम लागु भए पनि दुई पाङ्ग्रे सवारीसाधनमा २० प्रतिशतसम्म र चार पाङ्ग्रेमा १० प्रतिशतसम्म पास हुने दर बढेको एकान्तकुनास्थित कार्यालयले जानकारी दिएको छ ।
कार्यालयको चाप व्यवस्थापन गरेर अनलाइन फाराम भर्नेको परीक्षा लिइरहेको कार्यालयका प्रमुख राजकुमार कपालीले बताए । सुरुमा चाप बढी भए पनि पुनः ट्रायल दिने कम हुने उनको भनाइ छ । लिखित परीक्षा पास गरेका सेवाग्राहीले एक पटक प्रयोगात्मक परीक्षा पास नहुँदा पुनःदुई पटक मौका पाउने गरेका छन् ।
प्रयोगात्मक परीक्षामा ७० प्रतिशत ल्याउँदा नै पास हुने नियम अरु प्रदेशले विगतका वर्षमा नै लागु गरिसकेका थिए । सबैभन्दा बढी सेवाग्राहीको चाप रहेको वाग्मती प्रदेशले भने विभिन्न कारण देखाएर ढिला मात्रै सुरु गरेको थियो । अरु प्रदेशमा चाप अति न्यून रहेको र उपत्यका बाहिरका जिल्लास्थित कार्यालयको एक सातामा आउनेभन्दा उपत्यकामा एक दिनमा चाप बढी रहेको प्रमुख कपालीले बताए ।
विगतमा शतप्रतिशत ल्याउँदा मात्रै पास हुने नियम लागु हुँदा दुईपाङ्ग्रे सवारीसाधनमा ३५ देखि ४० प्रतिशत हाराहारीमा सेवाग्राही पास हुने गरेकामा अहिले ६० प्रतिशत पुगेको पाइन्छ । हलुका सवारी चालकको परीक्षामा सहभागीमध्ये पहिले २० पास हुने गरेकोमा अहिले ३५ देखि ४० प्रतिशतसम्म पुगेको कार्यालयले जनाएको छ ।