काठमाडौँ । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राष्ट्रिय एकीकरण अभियान प्रारम्भदेखि नेपालको एकता, अखण्डता, संस्कृति, परम्परा जोगाई राख्न नेपाली सेनाले निर्वाह गर्दै आइरहेको भूमिका प्रशंसनीय रहेको बताएका छन् ।
सैनिक मुख्यालय जङ्गी अड्डाको निरीक्षणका क्रममा सम्बोधन गर्दै उनले संवैधानिक दायित्व र समयक्रममा सरकारले सुम्पँदै आएको जिम्मेवारी अब्बल ढङ्गबाट पूरा गरी सेना जनताको भरोसाको केन्द्रका रूपमा रहेको उल्लेख गरे ।
सेनाले दुर्गम क्षेत्रमा, राज्यका सबै विकट स्थानसम्म पुगेर सडक पूर्वाधार तयार गरी योगदान पुर्याउँदै आएको बताउँदै उनले काठमाडौँ-तराई/मधेस द्रुतमार्ग आयोजनाको भ्रमण गर्ने क्रममा भइरहेको प्रगति देख्दा आफू सन्तुष्ट भएको उल्लेख गर ।
रक्षा मन्त्रालयको नेतृत्व सम्हालेपछि उनले पहिलो पटक जङ्गी अड्डा पुगेर सेनाको बारेमा औपचारिक जानकारी लिएका हुन् । सो अवसरमा मन्त्री उप्रेतीसमक्ष सेनाको सङ्गठनात्मक स्वरूप, तैनाथी, स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा सञ्चालन गरिरहेका विविध गतिविधिबारे जानकारी गराइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सो अवसरमा प्रधानसेनापति प्रभुराम शर्माले सेना सम्पूर्ण नेपालीको आफ्नै छोराछोरी सम्मिलित राष्ट्रकै उत्कृष्ट संस्था भएको बताएका छन् ।