पोखरा । प्रहरीको हात भाँचिदिएको आरोपमा पोखरामा एक जना अटो मोबाइल व्यवसायी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पश्चिमाञ्चल डिलर्स एसोसिएसनका मनोनीत सदस्य तथा अटो व्यवसायी सौरभ थापा छन् ।
उनी अटो मोबाइल एसोसिएसन अफ नेपाल (नाडा) अध्यक्ष ध्रुव थापाका छोरा हुन् । पक्राउ परेका २५ वर्षीय सौरभले बुबाको लगानीमा रहेका अटो मोबाइल व्यवसाय हेरिरहेका छन् ।
गत बिहीबार पोखरा राम बजार भारतीय पेन्सन क्याम्पअघि राती ३ बजे थापाले चलाएको गाडीको ठक्करबाट चेकिङमा बसेका प्रहरीको हात भाँचिएको प्रहरीको भनाइ छ ।
रक्सीले मातेर गाडी चलाएका थापालाई राम बजारमा प्रहरीले रोकेपछि उनले स्टन्ड देखाउँदै अगाडि भागेको र फेरि फर्किएर आएर प्रहरीलाई हानेको स्रोतको दाबी छ ।
अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘उनले प्रहरीलाई गाडीको ढोकाले हत्याए । उनले मादक पदार्थ सेवन गरेका थिए’ ‘गाडीको ढोकाले लागेर प्रहरी हवल्दार चित्रबहादुर वलीको हातै भाँचिएको छ ।’
उनलाई बिहीबार पक्राउ गरी दुर्व्यवहार मुद्दामा ५ दिनको म्याद थप गरिएको छ । मुद्दाको फाइल सरकारी वकिलको कार्यालयलाई बुझाइएको छ ।
‘थापालाई पक्राउ गरी अभद्र मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट ५ म्याद थप गरी अनुसन्धान भइरहेको छ । सरकारी वकिलको कार्यालयमा आजै फाइल पेस गरेका छौँ,’ जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी सुवास तिमिल्सिनाले भने ।
गत पुस २१ गते पनि मदिरा सेवन गरी गाडी चलाएका सौरभले पोखरा लेकसाइडमा अर्को गाडीलाई ठक्कर दिएका थिए । तर, थापा भोलिपल्टै पक्राउ परेर पनि छुटेका थिए ।